गुल्मी । नेपालमा ‘सरकारी काम कहिले जाला घाम’ भन्ने उखान प्रचलनमा छ। यसको अर्थ लाग्छ, सरकारी कार्यालयहरू खाली १० बजेदेखि ५ बजेसम्म जागिर पकाउन मात्र काम गरिहेका छन्। तर, जिल्ला प्रशासन कार्यालय गुल्मीले यो उखानलाई गलत सावित गरिरहेको छ।
सामान्यतया, सरकारी कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म हो। त्यही समयभित्र सेवाग्राहीले सेवा पाउने लिनुपर्ने हुन्छ। तर, जिप्रका गुल्मीले भने कार्यालय समय सकिएपछि समेत सेवा दिने गरेको पाइएको छ ।
सेवाग्राहीको चापका कारण जिप्रका गुल्मीले रातिसम्म नै सेवा दिइरहेको हो।
जिप्रकामा केही दिनयता बेलुकी ७, ८ बजेसम्म सेवाग्राहीको लाइन हुने गर्छ। सेवाग्राहीहरू सेवा लिनका लागि बेलुकी अबेलासम्मै लाइनमै हुने गर्छन्।
दशैँपछि हरेक दिन बिहान ७ बजे बजेदेखि नै कार्यालयमा सेवाग्राहीको घुइँचो लाग्ने गरेको छ। साँझसम्म नै बसेर सेवा पाउँदा नागरिकहरूको अनुहारमा खुशी देखिएको भान हुन्छ।
जिप्रका गुल्मीको दैनिक क्षमता ७० जनासम्म भए पनि अहिले भने १७० भन्दा माथिसम्मले सेवा लिनेगरेका छन्।
अन्य समयमा दैनिक ३० देखि ५० नयाँ नागरिकता जारी हुने भए पनि अहिले दशैँ–तिहारका बीचमा दैनिक १ सय देखि १७० सम्म नयाँ नागरिकता जारी हुने गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। सेवाग्राहीले राम्रो सेवा–सुविधा पाउन भनेर आफू बिहान ७ बजेदेखि राति ८ बजेसम्म खटिने गरेको उनको दाबी छ।
जिप्रकामा दरबन्दी अनुसारका कर्मचारी नरहेकाले पनि समस्या परेको प्रजिअ विक्रम पौडेलको गुनासो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।