काठमाडौं – चर्चित हाँस्य कलाकार मनोज गजुरेलले अर्का स्ट्याण्डअप कमेडियन अपूर्वक्षितिज सिंहको रिहाइको माग राखेका छन्।
घटनापछि अपूर्वको मानसिक स्वास्थ्यमा असर परेको भन्दै गजुरेलले उनलाई मानवीयताका आधारमा रिहाइ गर्न सामाजिक सञ्जालमार्फत माग राखेका हुन्।
‘क्षमा माग्नु र क्षमा दिनु नेपाल र नेपालीका सांस्कृतिक पहिचान हुन् । अपूर्वलाई मानवीयताका आधारमा रिहा गर्न अनुरोध गर्दछु । उनको मानसिक स्वास्थ्यको बिषेश ख्याल गरौं,’ उनले फेसबुकमा लेखेका छन्।
क्षमा माग्नु र क्षमा दिनु नेपाल र नेपालीका सांस्कृतिक पहिचान भएको भन्दै गजुरेलले आपसी सद्भाव भड्काउने खालका कमेन्ट नगर्नसमेत आग्रह गरेका छन्।
‘कृपया, कमेन्टमा जातीय सद्भाव बढाउने र सांस्कृतिक एकता कायम गर्ने कुरामात्र लेखिदिनुहोला । हामी सद्भाव चाहन्छौँ, भड्काव होइन,’ उनले थपेका छन्।
कमेडी गर्दा नेवारी समुदायको भावनामा चोट पुर्याएको आरोपमा यतिबेला स्ट्याण्डअप कमेडियन अपूर्वमाथि पाँच वर्षसम्म कैदको माग गर्दै मुद्दा हालिएको छ । सो मुद्दामा फेरि पक्राउ परेका उनलाई बिहीबार प्रहरीले जिल्ला अदालत काठमाडौं लगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।