काठमाडौं – छाप भञ्ज्याङदेखि ठाडी पोखरीहुँदै ढाडखोला सडकखण्डको सडक किनारमा लगाउने पर्खालमा खानीको ढुङ्गा प्रयोग गर्नुपर्नेमा खोलाको प्रयोग भएकोमा स्थानीयले विरोध जनाएका छन्।
पर्खालमा खोलाको ढुङ्गा प्रयोग नगर्न ठेकेदारलाई आफूहरूले आग्रह गर्दा उनी नमानेको एक स्थानीयले बताए।
‘मेलम्ची १३ नम्बरको छाप भञ्ज्याङदेखि वडा कार्यालयसम्मको बाटो निर्माण कार्यसमेत टेवा, पर्खा, नाला निर्माण र बाटो कालोपत्रे गर्न ठेक्का दिइएको थियाे,’ ती स्थानीयले भने ‘पहिले पनि एक किलोमिटर बाटो कालोपत्रे गर्ने काम भएको थियो। त्यतिबेला खोलाको गोलो आकारको ढुङ्गाले पर्खाल लगाउने काम भएको थियो। उक्त गोला ढुङ्गाको कारण ती पर्खालहरू एक वर्ष पनि टिक्न सकेनन्। त्यो गल्ती फेरि हुँदै गरेको छ।’
आयोजना साउन ३० गते सम्झौता भएको थियो भने भदौ १५ देखि कामको थालनी भएको थियो। सो आयोजनाको सम्झौता अवधि १८ महिना रहेको छ।
१० करोड ९० लाख २६ हजार ५३ रुपैयाँका उक्त आयोजना निर्माणका लागि गौरी गणेश निर्माण सेवासँग सम्झौता गरिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।