रुपन्देही- गृहमन्त्री बालकृष्ण खाँणले नेकपा एमाले नेतृत्वको गठबन्धन अप्राकृतिक र प्रतिगामी भएको बताएका छन्।
रुपन्देही- ३ बाट प्रतिनिधि सभामा सत्ता-गठबन्धनका सझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँणले बुटवल उपमहानगरपालिका- १४ मा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा विमति राखेको पार्टी पनि एमाले नेतृत्वको गठबन्धनमा रहेको उल्लेख गरे।
एजेन्डा नै नमिल्ने पार्टीबीच भएको गठबन्धन प्राकृतिक हुन नसक्ने गृहमन्त्री खाँणको दावी थियो। 'गठबन्धनमा एउटा दल गणतन्त्रवादी छ, त्यही गठबन्धनमा रहेको अर्को दलले गणतन्त्र स्वीकार्दै स्वीकारेको छैन। यस्तो गठबन्धनलाई कसरी प्राकृतिक गठबन्धन भन्ने,' गृहमन्त्री खाँणले भने।
अहिले आफ्ना सामु दुई जिम्मेवारी रहेको गृहमन्त्री खाँणले बताए। एउटा, देशभर एकै पटक शान्ति सुरक्षा कायम गर्दै निष्पक्ष, स्वतन्त्र, भयमुक्त र निर्वाध रूपमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी र अर्को आफूलाई जनताले रुचाएको, खोजेको र मन पराएको बनेर निर्वाचन जित्नुपर्ने अवस्थामा आफू रहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।