काभ्रे- प्रथम काभ्रे जिल्लाव्यापी अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। प्रतियोगिता मुल आयोजक समिति, रेफ्री र खेलाडीहरुको सहभागितामा मंगलबार खेल तालिका सार्वजनिक गरिएको हो।
पनौती नगरपालिका- २ को आयोजनामा भोलि बुधबारबाट सुरु हुने प्रतियोगितामा काभ्रे जिल्लाका ८ टिमको सहभागिता रहनेछ। प्रतियोगिता पनौती- २, लप्सेटारस्थित धाराचौरमा हुनेछ।
प्रतियोगितामा खानीखोला गाउँपालिका, महाभारत गाउँपालिका, बेथानचोक गाउँपालिका, मण्डन देउपुर नगरपालिका, बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, पनौती नगरपालिका र आयोजक टिम पनौती वडा नम्बर २ सहभागी छन्।
लिगका खेलहरु बुधबार नै खेलाइने छ। खेल तालिका अनुसार पहिलो खेल बुधबार बिहान ९ बजे मण्डन देउपुर नगरपालिका र खानीखोला गाउँपालिका, दोस्रो खेल बिहान साढे १० बजे पनौती नगरपालिका र बनेपा नगरपालिका, तेस्रो खेल दिउँसो साढे १२ बजे महाभारत गाउँपालिका र आयोजक पनौती- २ र अन्तिम खेल दिउँसो २ बजे बेथानचोक गाउँपालिका र धुलिखेल नगरपालिकाबीच हुनेछ।
प्रतियोगिता उद्घाटनअघि बुधबार बिहान कुशादेवी मन्दिरबाट बाजागाजासहितको झाँकी खेल मैदानमा प्रवेश गर्ने कार्यक्रम रहेको छ। पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले उद्घाटन गरेपछि खेल सुरु हुने मुल आयोजक समितिका संयोजक एवं पनौती- २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले बताए।
पनौती नगरपालिका- २ को आयोजनामा हुन लागेको यस प्रतियोगतालाई कुशादेवी युवा क्लब र लप्सेटार युवा समूहको समन्वय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।