काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई 'गोरुगाडावाला' भन्दै उनले देशलाई प्रतिगमनतिर लैजाने प्रयास गरिरहेको बताएका छन्। मंगलबार सत्ता गठबन्धनले ललितपुरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले ओलीप्रति कटाक्ष गरेका हुन्।
'१२ बुँदे समझदारीमा एमालेबाट माधवकुमार नेपालले हस्ताक्षर गरेको हो। नेपाली कांग्रेसबाट गिरिजाप्रसाद कोइरालाले हो। तत्कालीन माओवादीबाट मैले हो। हामीहरु अहिले पनि एकै ठाउँमा छौँ', उनले भने, 'र, गोरुगाडावालाहरु गोरुगाडा चढेर कहीँ न कहीँ फेरि पनि प्रतिगमनतिरै, प्रतिक्रान्तितिरै, अराजकतातिरै देशलाई लैजानेमा छन्।'
प्रचण्डले आफूहरुले विभिन्न किसिमबाट ज्ञानेन्द्रको निरंकुशताविरुद्ध लडेको बताए। 'शृंखलाबद्ध रुपले वार्ता भइसकेपछि हामी निरंकुशतन्त्रविरुद्ध १२ बुँदे समझदारी गर्ने सहमतिमा पुग्यौँ। र त्यो १२ बुँदे समझदारी गर्ने तयारी हुँदै गर्दा पार्टीहरुभित्र विभिन्न प्रवृत्ति थिए। एकथरी निरंकुशताका विरुद्ध लडाइँ लड्नु हुँदैन। त्यसका विरुद्ध आन्दोलन गरेर पार पाउन सकिँदैन। संविधान सभा नेपालमा सम्भव नै छैन, गणतन्त्र ल्याउने भन्नु र गोरुगाडा चढेर अमेरिका जानु एउटै कुरा हो भन्ने नेता र प्रवृत्ति थियो', उनले भने।
उनले आफूहरुले गोरुगाडावाला प्रवृत्तिका विरुद्ध संघर्ष गरेर १२ बुँदे समझदारी गरेको उनको भनाइ थियो। संविधान सभा भएपछि, संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भइसकेपछि, समावेशी र समानुपातिक चरित्रको लोकतन्त्र स्थापित गरिसकेपछि आफूहरुलाई गोरुगाडावाला सिद्धान्तवाला नेताहरु पनि बदलिए होलान् भन्ने लागेको प्रचण्डको भनाइ छ।
'उनीहरुले पनि संविधानमा हस्ताक्षर गरेपछि त अब त उनीहरु प्रतिगमन, प्रतिक्रान्ति, निरंकुशता, अराजकतातिर जाने छैनन् होला भन्ठान्यौँ हामीले। तर सबै धोका र बेइमानी रहेछ भन्ने कुरा जतिबेला हामीले वाम गठबन्धन र कम्युनिस्ट एकता गर्यौं। त्यतिबेला हामीले प्रत्यक्ष अनुभव गर्यौं। त्यो त बेइमानी र षडयन्त्र पो रहेछ। उनीहरुको भित्री मनसाय त फेरि पनि निरंकुशतन्त्र कायम गर्ने, देशलाई प्रतिगमनतिर लैजाने, अराजकतातिर लैजाने र नेपालमा फेरि पनि सामन्तवादलाई नै स्थापित गर्ने रहेछ', प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।