काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका पुकार बमलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
नयाँबानेश्वर क्षेत्रमा चुनाव प्रचारप्रसार गर्ने क्रममा आफू र आफ्नो साथमा रहेका व्यक्तिहरूले पुकार बम नाम अंकित टिशर्ट लगाएको सामाजिक सञ्जालमार्फत आयोगमा उजुरी आएकोले उनलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, जुलुस, आमसभा, कोणसभा, बैठक वा भोला गर्दा पालना गर्नुपर्ने आचारण अन्तर्गत खण्ड (घ) मा ‘जुलुश वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिशर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नुहुने’ व्यवस्था रहेको छ।
आयोगको स्पष्टीकरणपत्रमा भनिएको छ, ‘तपाईंले निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो नाम अंकित टिसर्टको प्रयोग गर्दा गराउँदा निर्वाचन आचारसंहिताको उल्लङघन हुँदैन भनी पुष्ट्याईँ गर्ने आधार कारण के छ?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।