पोखरा- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा महिला तर्फको क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनी क्लासिक चरणमा ९ अंक प्राप्त गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन्। प्रतियोगितामा लोहनीले क्लासिक चरणका सबै ९ खेल सम्पन्न हुँदा सबै खेलमा जित निकाल्न सफल भएको निर्णायक दिपेश गिरीले जानकारी दिए।
लोहनीले क्लासिक इभेन्टको पहिलो चरणमा बाग्मती प्रदेशकी मार्सल तामाङ, दोस्रो चरणमा सशस्त्र प्रहरी बलकी सुरुची थिङ, तेस्रो चरणमा त्रिभुवन आर्मी क्लबकी सिन्दिरा जोशी र चौथो चरणमा प्रदेश नम्बर एककी खुस्वु थापालाई पराजित गरेका थिए।
क्लासिकल चरणको पाँचौ चरणको खेलमा लोहनी प्रदेश नम्बर १ की खेलाडी कृतिसारा अधिकारी, छैटो चरणको खेलमा नेपाल पुलिस क्लबकी पुनम प्रसाई, सातौ चरणको खेलमा गण्डकी प्रदेशकी पुजा भण्डारी र आठौ चरणको खेलमा गैह्र आवासिय नेपाली संघ (एनआरएनए) की खेलाडी शान्ति धमला र नवौँ चरणमा एनआरएनएकी सुशीला गुरुङलाई पराजित गरें।
प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकै सिन्दिरा जोशीले ७ खेलमा जित र एक खेलमा ‘ड्र’निकाल्दै रजत पदक जित्न सफल भइन्।
त्यस्तै प्रदेश नम्बर १ की खुस्वु थापाले ६ खेलमा जीत र एक खेलमा ‘ड्र’ निकाल्दै कास्य पदक प्राप्त गर्न सफल भएको आयोजकले जनाएको छ। स्वर्ण पदक बिजेता लोहनीले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला क्लासिक तर्फको क्लासिकल इभेन्टमा सवै खेल जितेर स्वर्ण पदक बिजेता बनेका हुन्।
सोमबारको अन्तिम खेलमा बाग्मती प्रदेशले मधेश प्रदेशलाई १०–५ अंकले पराजित गरेको छ। प्रतियोगितामा मंगलबार लिग चरणका अन्तिम ८ खेलहरु हुनेछन् भने सेमिफाइनल चरणका खेलहरु पनि मंगलबारबाट नै सुरु हुने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।