पोखरा– नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भारत्तोलनमा थप स्वर्ण जितेको छ।
दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितिन्। यसअघि आइतबारको खेलमा पुलिसले ३ स्वर्ण र नेपाल आर्मीले १ स्वर्ण जितेका थिए।
टीकामायाले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कूल १४० केजी भार बहन गर्दै स्वर्ण जित्न सफल भएको नेपाल भारत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए।
यस्तै, नेपाल आर्मीकी प्रभा थारुले स्न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ७१ गरी कूल १२९ केजी भार उठाउँदै रजत जितिन् भने लुम्बिनी प्रदेशकी कृष्णकला बिष्टले कांस्य जितिन्।
उनले स्न्याचतर्फ ५६ र क्लीन एण्ड जर्कमा ७२ गरी कूल १२८ केजी तौल उठाउन सकिन्। उनी प्रभाको तुलनामा १ केजीमात्र भार कम उठाउँदा कांस्यमा सीमित भएकी हुन्। प्रतियोगितामा १२ जना खेलाडीले भाग लिएका थिए।
कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कूल १०/१० इभेन्टमा खेल हुनेछ। जसमा महिला ७६ र पुरुष ९६ गरी कूल १ सय ७२ जना खेलाडीले भाग लिएका छन्। प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ।
उद्घाटनका दिन पुलिसका मुई लामाले भारत्तोलनमा राष्ट्रिय रेकर्ड कायम गरे। उनले ६१ केजी तौल समूहमा भएको स्पर्धामा स्न्याचमा ९६ केजी भार बहन गरी उनले आर्मीका तुलाराम महताको रेकर्ड तोडेका हुन्। लामाले क्लीन एण्ड जर्कमा ११६ सहित कुल २१२ तौल उठाउँदै स्वर्ण जितेका हुन्।
रजत जितेका नेपाल आर्मीका राजु चौधरीले क्लीन एण्ड जर्कमा आफ्नै रेकर्ड तोडे। उनको नाममा १२० केजी रहेकोमा आइतबारको स्पर्धामा १२१ केजी तौल भार बहन गर्दै रेकर्ड ब्रेक भएको हो। उनले स्न्याचतर्फ ८७ केजीसहित कुल २०८ भार बहन गरेका थिए।
यसअघि, महिला ४९ केजी तौल समूहमा नेपाल पुलिसकी संगीता राई, पुरुष ५५ केजी तौल समूहमा आर्मीका तुलाराम महतो र महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले स्वर्ण जितिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।