रोल्पा– माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले ‘जनयुद्ध’को उद्गम थलो रोल्पाबाट कांग्रेस र माओवादीबीच सहकार्यको सन्देश दिन चाहेको बताएका छन्।
पुनले रोल्पामा माओवादी एक्लैले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन जित्न सक्ने बलियो आधार हुँदाहुँदै राष्ट्रियस्तरमै २ दलबीचको सहकार्यको विश्वासिलो वातावरण बनाउन मिलेर उम्मेदवारी दिइएको बताए। विगतमा २ फरक ‘ध्रुव’मा रहेर भिडेका शाक्ति कांग्रेस र माओवादी मिल्दा मात्र समाजमा शान्ति स्थापना हुने तथा मेलमिलापको वातावरण बन्न सक्ने उनको भनाइ थियो।
‘जुन शक्तिका बीचमा लडाइँ भयो ती शक्ति मिलेर मात्र समाजमा शान्ति कायम हुने हो’, गठबन्धन दलद्वारा रोल्पाको घर्ती गाउँमा आयोजित संयुक्त प्रशिक्षण कार्यक्रममा पुनले भने, ‘जसलाई द्वन्द्वको घाउले दुखाएको छ, शान्तिको महत्व उसलाई जति अरुलाई थाहा हुँदैन।’
पुनले कांग्रेस–माओवादी सहकार्य चुनावपछिको सरकारका लागि मात्र नभइ संविधान र लोकतन्त्र मास्न र लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धी रक्षाका लागि भएको तर्क गरे। ‘पटकपटक संविधान र लोकतन्त्र मास्ने प्रयास भयो’, उनले भने, ‘हिजो हामी मिलेर त्यो प्रयास असफल पारेका हौं। संविधान र व्यवस्थाको रक्षाका लागि हामी मिल्नुपर्ने बाध्यात्मक अवस्था आएको छ।’
उनले गठबन्धनको उद्देश्य मुलुकमा दिगो शान्ति, राजीतिक स्थायित्व तथा विकासको तीव्रता भएको बताए।
माओवादी र कांग्रेस दुवै दलका कार्यकर्तालई उनले विगतका तिक्तता बिर्सिएर राष्ट्रिय आवश्यकताका आधारमा मेलमिलाप र हकार्यको हात बढाउन अपिल गरे।
पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन सत्तारुढ गठबन्धनका तर्फबाट रोल्पाको प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। यसअघि ०७४ को निर्वाचनमा पनि उनी रोल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।