गुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता लिनेको चाप बढेको छ। चाडपर्वको बेला स्वदेश तथा विदेशमा रहेकाहरु चाडपर्व मनाउन आउने र यही समयलाई सदुपयोग गरेर नागरिकता, राहदानीलगायत बनाउन आउने भएकाले अन्य समयमाभन्दा बढी चाप हुने गरेको छ।
दशैंपछि कार्यालय खुलेसँगै गुल्मी जिल्ला प्रशासन कार्यालयबाट प्रतिदिन २ सयभन्दा बढी नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।
गत बिहीबार मात्रै २२२ जनालाई नागरिकता वितरण गरिएको छ। जसमध्ये १६४ नयाँ नागरिकता, ५३ प्रतिलिपी र ५ नाबालक परिचय पत्र गरी २२२ नागरिकता वितरण भएको छ।
यस्तै शुक्रबार ७४ नयाँ नागरिकता, २३ प्रतिलिपी, ३ नाबालक परिचय पत्र, ८७ राहदानी र ११६ राष्ट्रिय परिचय पत्रगरी ११६ नागरिकहरुलाई सेवा दिएको प्रजिअ पौडेलले बताए।
सयौंको संख्यामा लाइनमा बसेका सेवाग्राहीहरुले समयमै काम छिटो नहुँदा कुरेर बसिरहनुपर्ने बाध्यता भएको बताए। प्रशासनमा एक दिनमै काम सम्पन्न नहुँदा होटलमा बस्नुपर्ने जस्ता समस्या भएको सेवाग्रहीहरुले गुनासो गरेका छन्।
जिल्ला प्रशासनले एक जना बराबर बढीमा १० देखि १५ मिनेट भित्र नागरिकको हातमा नगरिकता पर्ने गरि काम गरिरहेको छ। तर, भिडभाड भएको समयमा सबै नागरिकहरुलाई सेवा दिनको लागि आवश्यक कर्मचारी अभावका कारण रातिसम्म बसेर भए पनि सेवा प्रवाह गरिरहेको प्रजिअ पौडेलले बताए।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा दरबन्दी अनुसारको कर्मचारीको नरहेकोले अन्य कार्यालयबाट कर्मचारी ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्ने तयारी प्रशासन कार्यालयको रहेको छ। नागरिकहरुको सेवाको लागि बिहान–बेलुका अतिरिक्त समयमा पनि कार्यालय सञ्चालन गरिने प्रजिअ पौडेलले बताए।
दशैंको समयमा घर आएकाहरु नयाँ नागरिकता बनाउन आउनु र प्रशासनमा कर्मचारीको अभाव हुनुले नागरिकता बनाउन सेवाग्राहीले सास्ती खेप्नुपरेको हो। प्रशासनमा दशैं र तिहारको समयमा सेवाग्राहीको प्राय भिड हुने गर्दछ। जिल्लामा दशैं अगाडिबाट नै धेरैथोरै भिड भए पनि गत बिहीबारबाट सेवाग्राहीको अत्यधिक भिड देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।