पोखरा- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोमा त्रिभुवन आर्मी र बागमती प्रदेशले थप स्वर्ण हात पारेका छन्। पुरुष टिम प्याट्रनमा आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो।
पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेशले रजत र महिलातर्फ आर्मीले रजत पदक जितेको छ। यसअघि एकल प्याट्रनमा आर्मीले तीन र बागमतीले दुई स्वर्ण हासिल गरेको थियो।
प्रतियोगितको पहिलो दिन शनिबार भएका प्रतिस्पर्धामा पनि आर्मीले तीन स्वर्णसहित बर्चश्व कायम गरेको थियो। अहिलेसम्म गण्डकी प्रदेशले एकल प्याट्रनबाट एउटा मात्र स्वर्ण जित्न सफल भएको छ।
स्पाइरिङतर्फ (४५–५०) उमेर समूहको पहिलो खेल समय नपुगेका कारण सेमिफाइनलमा पुगेर रोकिएको छ। सोमबार बिहान गण्डकी प्रदेशका खगेन्द्रबहादुर घर्ती र कर्णाली प्रदेशका मिलन धामीबीच फाइनल प्रतिस्पर्धा हुने नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन्।
शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफमा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका खेल भइरहेका छन्। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन्। आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीहरु प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।