काठमाडौं- मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका उम्मेदवारले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिह्नबाट प्रचार-प्रसार गरेको विषयमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
ती उम्मेदवारले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी गरेको प्रचारप्रसारबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदातालाई भ्रमित गर्ने भएकोले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले पत्राचार गरेको छ।
आफूलाई स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको कार्यबाट जानाजान प्रचलित निर्वाचन कानूनको उल्लङ्घन हुने पनि आयोगले जनाएको छ।
आयोगले काठमाडौँ- प्रतिनिधि सभा सदस्यका उम्मेदवार मधुसुदन पाठक, प्रतिनिधि सभा सिराहा- २ का उम्मेदवार शिवशंकर यादव, प्रदेश सभाका सिरहा- २ (क) का उम्मेदवार राजलाल यादव, प्रदेश सभा सिरहा- २ (ख)का उम्मेदवार यागेशकुमार सिंह, काठमाडौँ- (क) का प्रदेश सभा उम्मेदवार राजकुमार तिमिल्सिना, सर्लाही- २ का प्रतिनिधि सभा उम्मेदवार वीरवंश बैठा, सुनसरी- १ (क) का उम्मेदवार विजय कालिकोटे, प्रतिनिधि सभा रुपन्देही- ३ का उम्मेदवार प्रख्यात बञ्जाडे र नुवाकोट- १ (ख) का प्रदेश सभा उम्मेदवार दिपेश ढुंगानालाई स्पष्टीकरण सोधेको हो।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९ को उपदफा (४) बमोजिम दर्ता भएको दलको नाम, झण्डा र चिह्न अरु कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने व्यवस्था रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।