पोखरा- नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङ उडानका लागि नेपाल नागरिक उडड्यन प्राधिकरणसँग अनुमति नलिएको खुलेको छ।
प्याराग्लाइडिङ उडानका लागि प्राधिकरणसँग अनुमति लिनुपर्ने कानुनी व्यवस्था भए पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिता सञ्चालनका लागि अनुमति नलिएको पाइएको हो।
नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख विक्रम गौतमका अनुसार राखेपले प्राधिकरणको कुनै पनि कार्यालयबाट अनुमति लिएको छैन। ‘अनुमति लिनुपर्ने हो, आयोजकले के गर्नुभो, कहाँ अनुमति लिनुभो, उडानका लागि हामीकहाँबाट उहाँहरुले नै अनुमति लिनुभएको छैन,’ गौतमले भने।
मनोरञ्जनात्मक गतिविधि सम्बन्धी नियमावली २०६९ अनुसार प्रतिस्पर्धात्मक उडानको अनुमति प्राधिकरणसँग लिनुपर्छ। प्रतियोगिताको बारेमा आफूहरुलाई जानकारी नभएको गौतमले बताए। ‘प्राधिकरण कसैलाई पनि नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ उडान प्रतिस्पर्धा हुन्छ भनेर जानकारीसमेत नगराएनन्,’ उनले भने।
नवौं खेलकुद अन्तर्गत प्याराग्लाइडिङ उडानका क्रममा आइतबार आर्मीका खेलाडी निसम थापाको मृत्यु भएको थियो। सराङकोटबाट प्याराग्लाइडिङ उडाउँदै गर्दा करिब ५० मिटर माथिबाट खसेर उनको मृत्यु भएको हो।
थापाको मृत्युपछि प्राधिकरणले प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।