काठमाडौं- वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा तोकिएको समयमा खर्च विवरण नबुझाइ कारबाहीमा परेका तर आसन्न निर्वाचनमा उम्मेदवारी दिएका उम्मेरदारहरूलाई कात्तिक ५ भित्र जरिवाना बुझाउन निर्वाचन आयोगले निर्देशन दिएको छ।
आयोगले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, 'स्थानीय तह निर्वाचन, २०७० मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेको बन्दसूचीमा समावेश भएको भए त्यस्ता उम्मेदवारले आफूलाई लागेको जरिवाना वापतको रकम कात्तिक ५ गतेभित्र बुझाउनु पर्नेछ।'
कात्तिक ५ गते कार्यालय समयभित्र बुझाएमा जरिवाना असुल उपर भएको कायम गरी कानुन बमोजिम गर्न र जरिवाना वापतको रकम नबुझाउने उम्मेदवारको हकमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउन समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय आयोगले गरेको छ।
स्थानीय तह निर्वाचनका करिब १ लाख २० हजारभन्दा बढी उम्मेदवारले खर्च विवरण पेस नगरेको भन्दै आयोगले निर्वाचन आयोग ऐन २०७२ अनुसार जरिवाना तोकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।