पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत खोखोमा लुम्बिनी प्रदेश हावी भएको छ। राउन्ड रोबिन लिगका आधारमा भइरहेको समूह चरणको खेलमा महिला-पुरुष दुवैमा लुम्बिनीले सिंगल इनिङमै जित निकालेको हो।
पुरुषतर्फ लुम्बिनी प्रदेशले कर्णाली प्रदेशमाथि २६-६ को फराकिलो अन्तरले जित निकाल्यो। महिलातर्फ पनि कर्णाली प्रदेशमाथि नै लुम्बिनी ३०-२ को फराकिलो अन्तरले विजयी भयो।
चार इनिङ्समा हुने खोखो खेलमा प्रत्येक इनिङ्समा ९ मिनेटको समय छुट्याइएको हुन्छ। जसमा निर्धारित समयभित्र बढी अंक प्राप्त गर्ने टिम विजेता घोषित गरिन्छ। तर पहिलो इनिङ्समा अंकभार फराकिलो पर्न गए बढी अंक ल्याउनेले सोझै जित्ने नियम हुन्छ।
आइतबार भएका अधिकांश खेलमध्ये सिंगल इनिङ्समै सकिएको खोखो संघका प्रचार विभाग प्रमुख सुशीलमान व्यञ्जनकारले जानकारी दिए।
आइतबार बिहान मधेश प्रदेश र नेपाल आर्मीबीच भएको खेलमा पनि विभागीय टिम नेपाल आर्मीले सिंगल इनिङ्समै विजयी भएको थियो । जसमा नेपाल आर्मीले पहिलो इनिङमा १७ अंक ल्याउँदा मधेश प्रदेश ३ अंकमा समेटिएको थियो।
त्यस्तै आइतबार दिउँसो नेपाल आर्मी र प्रदेश १ बीच भएको महिला खोखोमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले फराकिलो अंकसहित सिंगल जित दर्ता गरेको थियो। प्रदेश १ केवल १ अंकमा समेटिँदा आर्मीको टिमले ३३ अंक ल्याएको थियो।
खेलका क्रममा लुम्बिनी प्रदेशकी एक खेलाडी घाइते भएकी छन्। कर्णाली प्रदेशसँग खेलका क्रममा लुम्बिनीकी दीपा विक लडेर घाइते भएको प्रचार विभाग प्रमुख व्यञ्जनकारले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।