काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को बीसौं महाधिवेशन आइतबारदेखि राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा सुरू भएको छ।
महाधिवेशनको उद्घाटन सत्रमा पार्टीको १९औं केन्द्रीय कमिटीको तर्फबाट महासचिव तथा राष्ट्रपति सी चिनफिङले कार्यप्रतिवेदन प्रस्तुत गर्दै आफ्नो नेतृत्वको १० वर्षे कार्यकालमा मुख्यत: तीन उपलब्धि हाँसिल गरेको दाबी गरेका छन्। सी १८औं माधिवेशनबाट महासचिवमा चुनिएका थिए।
‘चिनियाँ कम्युनिस्ट पार्टीको १८औं महाधिवेशनको १० वर्षमा तीन प्रमुख घटनाहरूको अनुभव गरेका छौं जुन पार्टी र जनताको कारणको लागि महत्तत्वपूर्ण छ,’ सीले भने, ‘पहिलो, चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिक, दोस्रो चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ युगमा प्रवेश र तेस्रो गरीबी निवारण।’
सीले सीपीसी स्थापनाको १०० वर्षलाई संघर्षको शताब्दी भनेका छन्। सीले यसलाई एक ऐतिहासिक जित भनेर व्याख्या गरेका छन्। उनले भने,‘यो ऐतिहासिक जित चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताको ऐतिहासिक जित हो। चिनियाँ राष्ट्रको विकासको ऐतिहासिक जित हो। यो पनि विश्वका लागि गहिरो प्रभावको ऐतिहासिक जित हो।’
सीले आफ्नो नेतृत्वको सरकारले कूल गार्हस्थ उत्पादनलाई दोब्बर बनाएको बताएका छन्। उनले १० वर्षयता चीनको कूल राष्ट्रिय गार्हस्थ उत्पादन मात्रा ५४० खर्ब चिनियाँ युआनदेखि ११४० खर्ब चिनियाँ युआनसम्म वृद्धि भएको, चीनको कूल आर्थिक मात्रा विश्व अर्थतन्त्रमा १८.५ प्रतिशत रहँदै ७.२ प्रतिशत वृद्धिका साथै विश्वको दोस्रो स्थानमा रहेको बताएका छन्।
त्यस्तै, चीनले १४० भन्दा बढी मुलुक र क्षेत्रका मुख्य व्यापारिक साझेदार रहँदा व्यापारिक रकम विश्वको पहिलो स्थानमा पारेको र विदेशी लगानी आकर्षित गर्नुका अलवा वैदेशिक लगानीको रकम पनि विश्वको अग्रस्थानमा रहेकोले अझ विस्तृत र गहन विदेशी खुलापनको अवस्था बनेको हल अफ द पिपुल्समा उपस्थित महाधिवेशन प्रतिनिधिलाई बताएका छन्।
यस्तै, प्रविधिको विकासमा महत्त्वपूर्ण उप्लब्धि हाँसिल गरेको सीको दाबी छ। मानववाहक अन्तरिक्ष, चन्द्रमा तथा मंगलको अन्वेषण कार्य, गहिरो समुद्र तथा भूमिगत अन्वेषण कार्य, सुपर कम्प्युटर, उपग्रहद्वारा नेभिगेसन, विशाल उडान विमानको उत्पादन तथा बायोलोजिकल औषधि आदि क्षेत्रको ठूलो विकास भएर आविष्कारक मुलुकको पंक्तिमा प्रवेश गरेको सीले बताएका छन्।
पर्यावरणको क्षेत्रमा सीले विगत दश वर्षमा हरियो पानी र समृद्ध पहाडको अवधारणालाई कायम राखिएको बताएका छन्। पर्यावरणीय सभ्यता प्रणालीमा एक ऐतिहासिक तथा वैश्विक परिवर्तन रहेको बताउँदै सीले चिनियाँ मातृभूमिको आकाश झन् नीलो, पहाडहरू झन् हरियालीयुक्त र र पानी झन् स्वच्छ भएको आफ्नो प्रतिवेदनमा दाबी गरेका छन्।

यस्तै, कार्यप्रतिवेदनमा सीले आउँदो शताब्दीका लागि अहिलेदेखि नै चिनियाँ कम्युनिस्ट पार्टीको मुख्य उद्देश्य अघि सारेका छन्। उनले चीनका विभिन्न जातिका जनतालाई एकत्रित पारेर समाजवादी आधुनिक देशको चौतर्फी रुपमा निर्माण गर्ने, दोस्रो शतवार्षिक लक्ष्य साकार तुल्याउने, सम्पूर्ण रूपमा चीन राष्ट्रको पुनरूत्थानलाई अघि बढाउनु पर्ने बताएका छन्।
सीले सन् २०२० देखि २०३५ सम्म आधारभूत रूपमा समाजवादी आधुनिकीकरणलाई साकार तुल्याउने र सन् २०३५ देखि यस शताब्दीको मध्यसम्म चीनलाई धनी, लोकतान्त्रिक, सभ्य, मेलमिलापयुक्त र सुन्दर हुने समाजवादी आधुनिक बलियो मुलुकको रुपमा निर्माण गर्ने अवधारणा अघि सारेका छन्। जसका लागि आगामी ५ वर्षमा यस उद्देश्यलाई साकार तुल्याउने आधार तय गर्ने मुख्य अवधि रहेको सीले प्रतिवेदनमा जोड दिएका छन्।
अन्तर्राष्ट्रिय सम्बन्धको बारे चर्चा गर्दे चीनले स्वतन्त्र शान्तिपूर्ण कूटनैतिक नीतिलाई अडिग रूपमा लागू गर्दै आएको सीले बताएका छन्। उनले चिनियाँ अडान तथा नीतिको आधारमा निर्णय गर्दै आएको, अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम र अन्तर्राष्ट्रिय न्यायिक निष्पक्षताको संरक्षण गरेको पनि बताएका छन्।
सीले सबै किसिमको सम्प्रभुतावादको दृढ विरोध गर्दै शीतयुद्ध र अरू देशको आन्तरिक मामिलामा हस्तक्षेपका साथै दोहोरो मापदण्डको पनि विरोध गर्ने आफ्नो नेतृत्वको पार्टीले नीति लिइरहेको जनाएका छन्। साथै सीले चीन विस्तारवाद तथा सम्प्रभुतावादतर्फ कहिल्यै नजाने पनि उद्घोष गरेका छन्।
एक हप्तासम्म चल्ने सीपीसीको यो महाधिवेशनलाई पश्चिमा शक्तिले चासोका साथ हेरेका छन्। वर्तमान राष्ट्रपति सी तेस्रो कार्यकालका लागि नेतृत्व लिने तयारीमा छन्। साथै, यो बीचमा ताइवानका कारण उत्पन्न भएको चीन–अमेरिका बीचको द्वन्द्वले पनि सीपीसीले लिने कार्यदिशालाई पश्चिमा शक्तिले महत्त्वका साथ हेरेका हुन्।
चिनियाँ कम्युनिस्ट पार्टीका २३ सयभन्दा बढी प्रतिनिधिहरू तथा विशेष प्रतिनिधिहरू र सीपीसीका शुभेच्छुकहरूहरूको पनि महाधिवेशनमा उपस्थिति रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।