काठमाडौं- नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङ उडानमा अनिश्चितकालका लागि रोक लगाएको छ।
प्याराग्लाइडिङ उडानमा दुर्घटना भएलगत्तै यस्तो निर्णय गरेको क्यानका प्रवक्ता तथा उपकार्यकारी निर्देशक जगन्नाथ निरौलाले बताए।
उडान खेलसम्बन्धी नीति, नियम तथा कानुनहरु व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको र स्पष्ट कानुन बनेपछि पुनः सञ्चालन अनुमति दिने निर्णय भएको उनले बताए।
आइतबार पोखराको सराङकोटमा प्याराग्लाइडिङ उडानकै क्रममा दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु भएको थियो।
पोखरा महानगरपालिका- १८, सराङकोटस्थित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अवस्थामा अकस्मात १०० मिटर माथिबाट खस्दा एक जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा नेपाल त्रिभुवन आर्मी क्लबका निसिम थापा हुन्। प्याराग्लाइडिङबाट खसेलगत्तै घाइते २६ वर्षे थापालाई मेट्रो सिटी अस्पताल पठाएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।