पोखरा– नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनीमा जारी महिला भलिबलमा एपीएफ क्लबले जित निकालेको छ। एपीएफले अर्को विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो।
एपीएफले आर्मीलाई एकका विरुद्ध तीन सेटले पराजित गरेको हो। लिक कम नकआउट वेष्ट अफ फाइभ सिस्टममा खेलाइएको खेलको पहिलो, तेस्रो र चौंथो सेट सशस्त्र तथा दोस्रो सेट आर्मीले जितेका थिए।
विनिता बुढाथोकीको कप्तानीमा मैदानमा उत्रिएको सशस्त्रले सेनालाई पहिलो सेट २५–२०, तेस्रो २५–२१ र चौंथो सेट २५–२३ मा पराजित गरेको थियो।
तीन टिम रहेको समूह ‘ए’बाट सशस्त्र र त्रिभुवन आर्मी क्वार्टरफाइनल प्रवेश गरेका भलिबलका राष्ट्रिय रेफ्रि विनय राईले जानकारी दिए।
क्वार्टरफाइनलमा समूह ‘ए’को बिजेता सशस्त्र र समूह ‘सी’ को उपविजेता लुम्बनी प्रदेश भिड्ने भएका छन्। यसैगरी समूह ‘सी’ को विजेता नेपाल पुलिस क्लव समूह ‘ए’को उपविजेता आर्मीसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।