काठमाडौं– तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ। लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाइटीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा व्यवसायीहरुलाई कुचो उत्पादन गर्न भ्याइनभ्याइ भएको हो।
नेपालमा मात्रै नभइ भारतमा पनि कुचोको माग बढेको काठमाडौंको सुकेधारास्थित गोरखनाथ कुचो सप्लायर्सका सञ्चालक रामप्रसाद बलाखेले बताए।
उनले आफूले उत्पादन गरेका कुचोहरु नेपालमा भन्दा धेरै भारतमा पठाउने गरेको बताए। यस वर्ष भने देशकै आर्थिक अवस्था कमजोर भएकाले नेपालमा कुचोको माग धेरै नरहेको उनको भनाइ छ।
‘१४/१५ वर्ष भयो कुचो व्यापार गर्न थालेको। नेपालमा काम गर्न थालेको ६ वर्ष लाग्यो। भारतमा धेरै सेल गर्छु। अम्रिसो पहाडका क्षेत्रतिर पाइन्छ। कोरोनापछि अहिले पनि राम्रोसँग व्यापार भएको छैन। आर्थिक अवस्था कमजोर भएकाले पनि होला व्यापार धेरै छैन’, उनले भने, ‘पहिला तिहारका तीन महिनाको बीचमा राम्रो व्यापार हुन्थ्यो। झाडु, कुचो, थुन्से, नाम्ला सबै गरेर बेच्ने गरेका छौँ। तर, यसपालि त्यसको आधा पनि हुनसक्ने स्थिति छैन।’
गोरखनाथ कुचो सप्लायर्सका बजार व्यवस्थापक सुदीप श्रेष्ठले भने तिहार लागेसँगै बजारमा कुचोको माग अत्यधिक बढेको बताए। उनले नेपाली बजारमा तिहारका लागि काठमाडौं उपत्यका बाहेकका अन्य जिल्लाहरुबाट पनि माग आएको र गत सालको भन्दा धेरै माग बढेको बताए।
उनले अहिले तिहारको सिजनमा हरेक दिन १० हजार कुचो बजारमा पठाइरहेको जानकारी दिए।
‘बजारमा अहिले नर्मल कुचोको मूल्य नै ८० रुपैयाँदेखि २०० रुपैयाँसम्म छ। तिहारका लागि धेरै माग बढेको छ। काठमाडौंमा मात्रै नभइ अन्य जिल्लामा पनि धेरै माग छ। पोहोरको भन्दा धेरै माग छ। अहिले तिहारको सिजनमा हरेक दिन १० हजार कुचा पठाइरहेका छौँ’, उनले भने।
तिहार नजिकिएसँगै डोको, डालो र कुचोको पूजा गर्नका लागि यो समयमा कुचो खपत अरू समयभन्दा धेरै हुने गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।