पोखरा- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबारदेखि पोखरामा सुरु भएको पौडी प्रतियोगीतामा नयाँ रेकर्ड कायम भएको छ।
१३औँ सागमा १५ सय मिटर फ्रि स्टाइलमा १७ मिनेट ४९.९५ सेकेण्ड लगाएका त्रिभुवन आर्मी क्लबका नासिर याहा हुसेनले फिस्टेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा १६ मिनेट ५०.२१ सेकेण्डमा दूरी पार गर्दै यसअघिको आफ्नै रेकर्ड तोडेका हुन्।
एनआरएनका आशिष सापकोटाले १६ मिनेट ५७.९५ सेकेण्डमा पूरा गरेका थिए। १५ सय मिटर फ्रि स्टाइलमा नासिरले स्वर्ण पदक जितेका छन्।
२ सय मिटर पौडीमा त्रिभुवन आर्मी क्लबकै डुवाना लामाले २ मिनेट ३१.४६ सेकेण्डमा पूरा गर्दै गौरिका सिहंको २ मिनेट ३२ सेकेण्डको कीर्तिमान तोडेर नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल बनिन्।
पौडी प्रतियोगितामा २०३ जना खेलाडीले सहभागिता जनाएको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।