पोखरा- गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज (शनिबार) पोखरामा भएको साइक्लिङको डाउनहिल विधामा पुरुष र महिला दुवैतर्फ नेपाल आर्मीका खेलाडी बिजेता बनेका छन्।
पुरुषतर्फ नेपाल आर्मीका राजेश मगरले १४ सय मिटरको दुरी रहेको डाउनहिल १ मिनेट ४९.१० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका छन्।
त्यस्तै बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेण्डमा दूरी पूरा गर्दै रजत र एपिएफका प्रचित थापा मगरले १ मिनेट ५५.६९ सेकेण्डमा उक्त दूरी पूरा गरी कास्य पदक जित्न सफल भएका छन्।
यता महिलातर्फ पनि सोही दूरी नेपाल आर्मीकी निस्मा श्रेष्ठले २ मिनेट २३.५८ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी छिन्। रजत पदक पनि नेपाल आर्मीकै उषा खनालले जित्न सफल भइन्। खनालले २ मिनेट ३७.४५ सेकेण्डमा दूरी पूरा गरेकी थिइन्।
त्यस्तै २ मिनेट ४०.०९ सेकेण्डमा दूरी पूरा गर्दै गण्डकी प्रदेशकी जमुना थापाले कास्य पदक जित्न सफल भइन्।
साइक्लिङको डाउनहिल विधामा नेपाल आर्मीले २ स्वर्ण, बागमती प्रदेश र नेपाल आर्मीले १/१ रजत त्यस्तै गण्डकी प्रदेश र एफिएफले १/१ कास्य पदक जित्न सफल भए।
सात प्रदेश र तीन विभागीय गरी १० क्षेत्रबाट प्रतिस्पर्धा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।