पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङका खेलहरु शनिबारबाट सुरु भएका छन्। पहिलो दिनको पहिलो चरणको खेलमा एकल पुरुषतर्फ आर्मी र टिमतर्फ भने गण्डकी प्रदेश अग्र स्थानमा रहेको छ।
४१ किलोमिटरको टाक्स रहेको प्याराग्लाइडिङ क्रस कन्ट्रीतर्फको इभेण्टमा नेपाल आर्मीका सुरज थापाले १ हजार अंक ल्याउदै अग्र स्थानमा रहेका छन्।
त्यसैगरी गण्डकी प्रदेशका विजय गौतम ९ सय ४८ अंकका साथ दोस्रो स्थानमा रहँदा बागमती प्रदेशका कृष्णबहादुर सुनुवारले ९ सय २५ अंक बटुल्दै तेस्रो स्थानमा रहेका छन्।
त्यसैगरी टिम इभेण्टतर्फ गण्डकी प्रदेशले २ हजार ५ सय ५६ अंक ल्याउँदै अग्र स्थानमा रहेको छ। २ हजार १ सय ४८ अंक बटुल्दै आर्मी दोस्रो र १ हजार ५ सय ३३ अंक बटुल्दै तेस्रो स्थानमा रहेको छ।
कास्कीको नौडाँडा, पँचासे, मेथ्लाङडाँडा, अर्मला लगायतको टाक्स निर्धारण गरिएको प्रतियोगिताका संयोजक शैलेन्द्र राउतले बताए। उनका अनुसार उक्त प्रतियोगितामा नेपाल आर्मी, एपिएफ, गण्डकी प्रदेश, प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेश गरी ६ टिमको सहभागिता रहेको छ।
प्रतियोगितामा ४ राउण्डमध्ये ३ राउण्डलाई मान्यता दिइने भएको छ। प्याराग्लाइडिङ सराङकोटको डाँडाबाट उडान भरी खपौदीमा अवतरण गराइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।