पोखरा- नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आर्चरीतर्फ गण्डकीका खेलाडी अगाडि देखिएका छन्। शनिबारदेखि सुरु भएको आर्चरीमा पहिलो दिन स्टान्डर्ड (३० मिटर) विधामा पुरुषतर्फ गण्डकीका दुर्गा घर्ती मगर र महिलातर्फ अनुष्का शेरचन उच्च स्कोरका साथ पहिलो वरियतामा रहे।
र्याङकिङ राउण्डमा पुरुषतर्फ २९ जनाले सहभागिता जनाएकोमा दुर्गा ६६८ अंक प्राप्त गर्दै सबैभन्दा अगाडि रहेका हुन्।
७२० पूर्णांक रहेको खेलमा नेपाल पुलिसका नगेन्द्र आचार्य ६५३ अंकका साथ वरियताको दोस्रो स्थानमा र गण्डकीकै खड्ग घर्ती ६४९ अंक ल्याउँदै तेस्रो वरियतामा रहे। स्टान्डर्ड विधामा ३४ खेलाडीले नाम दर्ता गरेकोमा ५ जना अनुपस्थित रहे।
महिलातर्फ अनुष्काले सर्वाधिक ६१६ अंक बटुल्दै अग्रस्थानमा रहेकी हुन्। ६१३ अंक प्राप्त गरेकी नेपाल आर्मीकी शारदा बिक दोस्रो वरियतामा रहँदा एपीएफकी सोनु जया राई ६०१ अंक ल्याउँदै तेस्रो स्थानमा रहिन्। महिलातर्फ यो विधामा १४ खेलाडी सहभागी छन्।
आइतबार बिहानदेखि स्टान्डर्डको महिला पुरुष दुवैको इलिमिनेसन राउण्डका खेल हुने गण्डकी प्रदेश आर्चरी संघका वरिष्ठ उपाध्यक्ष बसन्त थकालीले जानकारी दिए।
पोखरा रंगशालास्थित आर्चरी मैदानमा सञ्चालन भइरहेको खेलमा दिउँसो भने कम्पाउण्ड (५० मिटर) र रिकर्भ (७० मिटर) विधातर्फ पुरुष र महिलाको र्याङकिङ राउण्ड हुनेछ।
समग्र टिमतर्फ पुरुषमा गण्डकी र महिलातर्फ भने आर्मी अग्रस्थानमा रहे। तीन उत्कृष्ट खेलाडीको योगफल पुरुषतर्फ गण्डकी टिमको १९६० र महिलातर्फ आर्मीको १७५३ स्कोर रहेको छ। पुरुषतर्फ दोस्रो स्थानमा एपीएफको अंक १९१२ र तेस्रो स्थानमा पुलिसको १८६९ छ। महिलातर्फ दोस्रो स्थानमा गण्डकी (१६६९ अंक) र तेस्रो स्थानमा प्रदेश १ (१५५५ अंक) रहे।
आवश्यक टार्गेट बोर्ड नभएका कारण दुई पटक गरी खेल खेलाइएको थियो। आर्चरी खेल संघका अधिकारीहरुले आवश्यक खेल सामग्री तत्काल व्यवस्था गर्न माग गरेका छन्।
खेलमा ५ प्रदेश, ३ विभागीय र एनआरएनए गरी ९ टिमको सहभागिता रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, एपीएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाएका छन्।
पाँचौ संस्करणबाट सहभागिता जनाएको आर्चरीमा यो पटक सबैभन्दा धेरै टोलीको सहभागिता रहेको नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।