काठमाडौं- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ जना व्यक्ति र ८ वटा संस्थालाई स्पष्टीकरण सोधेको छ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट लागू गरिएको निर्वाचन आचारसंहिता उल्लंघनका सम्बन्धमा आयोगमा परेका उजुरीका आधारमा उनीहरुलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
अहिलेसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अधिकृत गोकुल वस्ती, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत, हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र नुवाकोट- १ का प्रतिनिधि सभा सम्मेदवार बद्री मैनालीलाई स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए।
यसैगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोगको सहमति बमोजिम मात्र कार्यसम्पादन गर्न तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता भट्टराईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।