पोखरा– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सका ७ इभेन्ट सम्पन्न भएका छन्।
शनिबारदेखि सुरु भएको एथलेटिक्सका महिला पुरुष १५ सय मिटर दौड, १० हजार महिला दौड, महिला पुरुष १ सय मिटर दौड, महिला पुरुष सटपुटका इभेन्टहरु सकिएका छन्।
पोखरा रंगशालामा शनिबार सम्पन्न एक हजार ५ सय मिटर दौड पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पाल र महिलातर्फ सशस्त्र प्रहरी बल (एपीएफ) क्लबकी फुलमति रानाले स्वर्ण पदक जित्न सफल भए। आर्मीका मुकेशले ३ मिनेट ५२.२१ सेकेन्डमा निर्धारित दूरी पार गरेका हुन्। एपीएफका अजित यादव र नागेश्वर अहिरले कांस्य र रजत पदक प्राप्त गरे। अजितले ३ मिनेट ५३.११ सेकेन्ड र नागेश्वरले ३ मिनेट ५६.५ सेकेन्डमा दूरी पार गरे।
महिलातर्फ एपीएफकी फूलमती रानाले त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जितेकी हुन्। उनले ४ मिनेट ३८.१९ सेकेन्ड पूरा गरेकी हुन्। रजत पदक जितेकी सरस्वतीले ४ मिनेट ४१.८० सेकेन्ड र आर्मीकी रेखा लिम्बूले ५ मिनेट ०३.८० सेकेन्डमा दूरी पार गर्दै कांस्य पदक हात पारिन्।
सटपुटमा पुरुषतर्फ आर्मीका तिलक विक र महिलातर्फ आर्मीकै चन्द्रकला लामगादेले स्वर्ण जिते। तिलकले सोही क्लबका चित्रबहादुर वलीलाई पराजित गर्दै स्वर्ण जितेका हुन्। वलीले रजत पदक जित्दा बागमती प्रदेशका ललित रावतले कांस्य पदक जिते।
१०० मिटर दौडको पुरुषतर्फ एपीएफका शिवराज पार्की र महिलातर्फ आर्मीका सरस्वती चौधरीले स्वर्ण पदक जिते। शिवराजले आर्मीका युवराज विकलाई हराउँदै स्वर्ण जितेका हुन्। युवराजले रजत पदक जित्दा आर्मीका डिल्ली भण्डारीले कांस्य पदक जिते।
महिलातर्फ स्वर्ण विजेता त्रिभुवन आर्मी क्लबकी सरस्वतीले लुम्बिनी प्रदेशकी निशा चौधरीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। उनले निर्धारित दूरी १२.१३ सेकेन्डमा पूरा गरिन्। सरस्वतीले स्वर्ण पदकसहित राष्ट्रिय कीर्तिमान समेत कायम गरेकी छन्।
उनले हिट चरणमा निशा चौधरीको नाममा रहेको रेकर्ड ब्रेक गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन्। निशाले हिट चरणमा १२.१५ सेकेन्ड समय लगाएकी थिइन्। आर्मीकी रमिता थारुले कांस्य जितिन्। रमिताले निर्धारित दूरी १२.९३ सेकेन्ड पार गरिन्।
बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौड स्वर्ण पदक जितेकी छन्। उनले ३६ मिनेट १९.३६ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन्।
पोखरा रंगशालामा शनिबार भएको खेलमा विभागीय टोली पुलिस क्लबकी राजपुरा पछाइलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितिइन्। राजपुरीले निर्धारित दूरी ३६ मिनेट २२.४५ सेकेण्डमा पूरा गरेकी हुन्।
सन्तोषी १३औं दक्षिण एसियाली खेलकुद (साग)को स्वर्ण पदक विजेता खेलाडी हुन्। एपीएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.०९ सेकेण्डमा निर्धारित दूरी पूरा गरी तेस्रो स्थानमा रहिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।