काठमाडौं– नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताएका छन्।
शनिबार वाम लोकतान्त्रिक गठबन्धन, नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
महराले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर जानुपर्नेमा अन्यत्र कतै गइरहेको हो कि भन्दै प्रश्न गरे। उनले नेपाल आर्थिक रुपमा बिस्तारै कमजोर बनिरहेको पनि दाबी गरे।
महराले नेपालको व्यवस्थाप्रति समेत नकारात्मकता आउन थालेको उल्लेख गर्दै देशको व्यवस्था नकारात्मकतातिर जानुमा तत्कालीन केपी शर्मा ओलीको नेतृत्वको सरकारको दोष रहेको आरोप लगाए।
उनले ओली सरकारले गरेको गलत कामलाई सम्हाल्न अहिलेको सरकारलाई गाह्रो भइरहेको भन्दै अहिले प्रतिगमन सच्याउने र संविधानसंगत बाटोमा हिँडाउनुपर्ने मुख्य आवश्यक्ता भएका जिकिर गरे।
उपाध्यक्ष महराले नेपालमा विदेशी लगानी कमजोर बन्दै गइरहेको पनि बताए। उनले नेपालले आफ्नो श्रोत, साधनको उचित प्रयोग गरेर विदेशी लगानी भित्र्याउनुपर्नेमा जोड दिन आवश्यक रहेको बताए।
अहिले देशलाई समृद्धिको दिशामा लैजान आवश्यक रहेको र देशको श्रोत, साधनलाई प्रयोग गर्नसके देशको समृद्धि निश्चित रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।