पोखरा– ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुन्दर नगरी पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्वी खेल पोखरा महानगरपालिका–२९ को भण्डारढिक खेलमैदानमा शनिबारदेखि सुरु भएको छ।
नेपाल रग्वी संघका केन्द्रीय अध्यक्ष दीपक देवकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले क्षमतावान, सक्षम र प्रतिभावान खेलाडीहरु तयार गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल रग्वी संघका सन्तोष भट्राई, पूर्वगृहमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिका–का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, नेपाल रग्वी संघ महासचिव चेतनराज गिरी,नेपाल रग्वी संघ कास्की सचिव सुवास खड्का लगायतले शुभकामना दिँदै प्रतियोगिता खेलाडीहरुको लागि महान उत्सव भएको तथा यसले गण्डकी प्रदेशलाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्नेमा जोड दिए।
उद्घाटन समारोहमा यस प्रतियोगितामा सहभागिता जनाउने टिमको मार्चपास प्रस्तुत गरिएको थियो भने स्थानीय टोल विकास संस्था,आमा समूहहरुले झाँकी र्याली प्रस्तुत गरेका थिए।

४ दशकपछि गण्डकी प्रदेशको राजधानी पोखरामा शुक्रबारदेखि औपचारिक रुपमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहेको छ। कूल ३६ वटा खेल र २ प्रदर्शनीसहित ३८ खेल समावेश गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ६ हजार १ सय ५७ खेलाडीहरु सहभागी भएका छन् भने करिब १ हजार ३ सय पदकका लागि प्रतिस्पर्धा हुने भएको छ।
प्रतियोगिता गण्डकी प्रदेशका विभिन्न ८ जिल्लाहरु कास्की, तनँहु, पर्वत, गोरखा, स्याङजा, नवलपुर, म्याग्दी र बागगुङ सञ्चालन भइरहेको छ भने भण्डारढिक खेल मैदानमा शनिबारदेखि सुरु भएको रग्वी खेलमा ३२४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।