काठमाडौं– पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगत एथलेटिक्सको महिला १०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्। कीर्तिमानसहित उनले स्वर्ण जितेकी छिन्।
ओलम्पिक खेलमा समेत सहभागी भएकी चौधरीले शनिबार बिहान भएको हिट चरणमा लुम्बिनी प्रदेशकी निशा चौधरीले बनाएको कीर्तिमान तोड्दै स्वर्ण जितिन्।
सरस्वतीले १२.१३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। दुई सेकेण्डको अन्तरले उनले कीर्तिमान कायम गरेकी हुन्।
हिट चरणमा लुम्बिनीकी निशा चौधरीले १२.१५ सकेण्डको कीर्तिमान बनाएकी थिइन्। तर, फाइनलमा भने निशाले निर्धारित दूरी पूरा गर्न १२.२२ सेकेण्डको समय लगाइन्। आफ्नै कीर्तिमान कायम राख्न नसकेकी निशाले रजत पदक जितिन्। आर्मीकी रमिता थारुले कांस्य जितिन्।
सरस्वतीले आठौं राष्ट्रिय खेलकुदमा १२.१९ सेकेण्डमा निर्धारित दूरी पार गरेर स्वर्ण जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।