कजाकस्तान- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध तत्कालका लागि थप ठूलो आक्रमणको योजना नरहेको र क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई नष्ट गर्नु नभएको बताएका छन्।
कजाकिस्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि पत्रकारहरूसँग उनले भने, “अहिले ठूलो आक्रमणको आवश्यकता छैन। अहिलेका लागि त्यहाँ अन्य कामहरू आवश्यक छन्।”
रूसले युक्रेनको राजधानी किभलगायत सम्पूर्ण क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको केही दिनपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएका पुटिनले मित्रराष्ट्रहरूबाट समेत अलगाव र आलोचनाको सामना गरिरहेका छन्।
तर, युक्रेनमा सरकार ढाल्ने असफल प्रयास र हप्तौंदेखिको क्षेत्रीय क्षतिका बाबजुद रूसले ‘सबै कुरा ठिक गरिरहेको’ उनले बताए।
पुटिनले भने, “आज जे भइरहेको छ, त्यो सुखद छैन। यदि रूसले फेब्रुअरीमा आक्रमण नगरेको भए हामी पनि त्यस्तै अवस्थामा हुने थियौं। केवल हाम्रो लागि स्थिति खराब हुने थियो।”
यद्यपि उनले मस्कोका पूर्व सोभियत सहयोगीहरू द्वन्द्वलाई लिएर ‘चिन्तित’ रहेको स्वीकार गरेका छन्।
पुटिनले भने, “पक्कै पनि हाम्रा साझेदारहरू रुसी–युक्रेनी सम्बन्धको भविष्यप्रति चासो राख्छन् र चिन्तित छन् तर यसले क्रेमलिनसँगको सम्बन्धमा कुनै असर पार्दैन।"
उनले रूसमा परिचालन विस्तार गर्ने आफ्नो कुनै योजना नरहेको पनि बताएका छन्।
पुटिनले भने, “थप केही पनि योजना छैन। रक्षा मन्त्रालयबाट कुनै प्रस्ताव प्राप्त भएको छैन र म निकट भविष्यमा कुनै थप आक्रमणको आवश्यकता देख्दिनँ।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।