पोखरा- उपराष्ट्रपति नन्दबहादुर पुनले नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन गरेका छन्। ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको उपराष्ट्रपति पुनले शुक्रबार साँझ पोखरा रङ्गशालामा उद्घाटन गरेका हुन्।
सो अवसरमा उपराष्ट्रपति पुनले पर्यटकीय नगरी पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद खेलाडीहरूको महान उत्सव भएको बताए। यस खेलकुदले नयाँनयाँ प्रतिभा तयार गर्ने उनको भनाइ थियो।
यस प्रतियोगिताले गण्डकी प्रदेशलाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्ने बताउँदै उनले आत्मविश्वास र उच्च मनोबलका साथ खेलमा सहभागी बन्न खेलाडीलाई आग्रह समेत गरे।
रङ्गशालामा सात वटै प्रदेश, तीन विभागीय, एनआरएनसहित ११ टिमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको हजारौँ जनाको उपस्थिति थियो।
समारोहमा सात वटै प्रदेशका टिम, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास गरिएको थियो। मार्चपासमा नवौँ राष्ट्रिय खेलकुदका लागि तयार गरिएको गण्डकी प्रदेशमा पाइने कस्तुरी मृगको मस्कट सहभागी गराइएको थियो। यस क्रममा विभिन्न जातजातिका सांस्कृति झाँकी प्रस्तुत गरिएको छ।
समारोहका मूल आयोजक समितिका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले नवौँ राष्ट्रिय खेलकुदको झण्डा झण्डोत्तोलन गरेका छन्। झण्डामा गण्डकी प्रदेशको राजधानी पोखरा र माछापुच्छ्रेलाई रेखांकित गरिएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद हुनु समग्र गण्डकी प्रदेशका लागि गौरव भएको बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले पोखरामा भएको यस खेलले खेल क्षेत्रको विकाससँगै गण्डकी प्रदेशको पर्यटकीय सम्भावनालाई अझै उजागर गर्ने बताए।
कूल ३६ वटा खेल र दुई प्रदर्शनी सहित ३८ खेल समावेश भएको यस प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी छन् । कुल ६ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने जनाइएको छ। प्रतियोगितामा करिब एक हजार ३०० पदकका लागि प्रतिस्पर्धा हुन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।