काठमाडौं– अर्थविद् डा स्वर्णिम वाग्लेले युवा पुस्ताले मुलुकको नेतृत्व गरेपनि नेपाल सिंगापुर र स्वीट्जरल्याण्ड बन्न नसक्ने जनाएका छन्।
शुक्रबार एशोसिएसन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) द्वारा आयोजित 'दिगो आर्थिक विकास' विषयक सम्मेलनमा बोल्दै अर्थविद् वाग्लेले यस्तो बताएका हुन्।
उनले नेपाल सिंगापुर र स्वीट्जरल्याण्ड बन्न नसकेपनि प्रतिव्यक्ति आयको हिसाबले श्रीलंकाको अवस्थामा पुर्याउन सकिने बताए। उनले अहिले श्रीलंकाको प्रतिव्यक्ति आय ३९ सय डलर रहेको बताए। उनले नेपालमा अबको तीन/चार वर्षमा पञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्व विस्थापित भइ युवा पुस्ताले नेतृत्व पाउने आशा पनि व्यक्त गरे।
वाग्लेले अहिले नेपालमा ११ जना युवाले काम गरेर १ जना वृद्ध पाल्नुपर्ने अवस्था भएपनि सन् २०५० पछि चार जना युवाले काम गरेर १ जना वृद्धलाई पाल्नुपर्ने अवस्था आउने बताए। उनले अहिले नेपालकाे जीडीपीमा उद्योगधन्दाको योगदान ५ प्रतिशत रहेको भन्दै यसलाइ कम्तिमा १२ देखि २५ प्रतिशतसम्म पुर्याउनुपर्ने बताए।
‘अहिले कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उद्योगहरुको योगदान ५ प्रतिशत रहेको छ। १० वर्षे द्वन्द्व लगायतका कारण उद्योगमा कमी हुँदै आयो। अबको पुस्ताले १२ देखि २५ प्रतिशतसम्म पुर्याउनुपर्छ जस्तो लाग्छ’, उनले भने ‘जलविद्युत उत्पादन बढाएर र आन्तरिक प्रतिस्पर्धालाई माथि उठाएर भएपनि बढाउनुपर्छ। उद्योगको बिस्तार विकास नगरी हामी सेवा क्षेत्रमा प्रवेश गर्यौं। वार्षिक आम्दानीको हिसाबले अफगानिस्तान भन्दा गरिब मुलुक नै छौं। नेपाल उद्योग बिस्तार भन्दा पनि नाङ्ले व्यापारमा लागिरहेको छ,’ डा वाग्लेले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।