काठमाडौं– किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार नभएको जनाएको छ।
शुक्रबार साँझ अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले विज्ञप्ति जारी गर्दै जोशीलाई औषधिले काम नगरेको उल्लेख गरेका छन्।
‘समग्रमा जोशीज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकोले अवस्था चिन्ताजनक रहेको छ’, अस्पतालको विज्ञप्तिमा भनिएको छ।
प्रा डा मिलेशजंग सिजापतिको संयुक्त नेतृत्वमा जोशीको उपचार भइरहेको पनि अस्पतालले जनाएको छ।
१०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएर उपचार भइरहेको छ।
पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि अहिले सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।