काठमाडौं– नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा निलम ढुङ्गाना तिमिल्सनाले अर्थतन्त्रमा ठूलो दबाब रहेको बताएकी छन्। शुक्रबार एसोशिएसन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान)ले गरेको दिगो आर्थिक विकास विषयक कार्यक्रममा उनले विश्वको अर्थतन्त्रमा नै ठूलो दबाब परेको बताएकी हुन्।
उनले अब दिगो विकासका लागि बहस आवश्यक रहेको बताइन्। वर्तमान पुस्तालाई असर नगरी भविष्यको पुस्तालाई सहयोग पुग्नेगरी काम गर्नु दिगो विकास भएको बताउँदै अर्थतन्त्रलाई पनि सोही ढंगमा सञ्चालन गर्नुपर्ने अवस्था आएको उनको धारणा छ।
उनले नेपाल लगायत केही देशहरू अहिले असहज परिस्थितिमा चलिरहेको बताउँदै कोरोना महामारी र रुस–यूक्रेन युद्धका कारण अर्थतन्त्रमा ठूलो प्रभाव पारेको बताइन्।
‘नेपालको अर्थतन्त्रमा मुद्रा स्थितिको दबाब छ। डलरको मूल्य बढेको कारण रेमिटान्स बढेको छ। बैंक तथा बित्तीय संस्थाले तरलताको समस्या खेप्नुपरेको छ। तरलता सहज कायम गर्न उत्पादन मूलक क्षेत्रमा लगानी बढाउनु पर्ने छ’, उनले भनिन्, ‘अर्थतन्त्रमा दबाब रहेकै कारण नियामकले पनि कडाइ गरेर अगाडि बढ्नु पर्ने अवस्था छ। अझै यसलाई थप सशक्त बनाउँदै लैजानुपर्ने बाध्यता हामीलाई पनि छ।’
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षण निरन्तर रुपमा गरिरहेको बताउँदै उनले दिगो विकासका लागि राष्ट्र बैंकले आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गरिरहेको बताइन्।
यस्तै, उनले राष्ट्र बैंकले जलविद्युत्, कृषि लगायतका कर्जामा सहुलियत दिएको बताउँदै राष्ट्र बैंक अर्थतन्त्रको दिगो विकासका लागि नियमसंगत काम गराउन दत्तचित्त भएर लागेको दाबी गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।