काठमाडौं– सरकारले कर्णाली प्रदेशका चार जिल्लालाई विपद् क्षेत्र घोषणा गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विपद् व्यवस्थापन तथा व्यवस्थाको कार्यलाई थप प्रभावकारी बनाउन, सम्भावित जोखिमबाट हुने क्षति न्यूनिकरण गरि थप जनधनको नोक्सानी हुन नदिनका लागि कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र कालिकोटलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
त्यस्तै, सरकारबाट गठित वार्ता टोली र प्रा डा गोविन्द केसीबीच असोज ८ गते सम्पन्न सहमति पत्र अनुमोदन गरि कार्यान्वयन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
मन्त्रिपरिषद् बैठकले फिलिपिन्समा आयोजना हुने लिडरसिप फोरम एण्ड साइनिङ सेरोमनि अफ कमिटमेन्ट लेटर स्टेन्थेजिनङ प्रफोनेन्स अडिट क्यापसिट एसिया एण्ड प्यासिफिक विषयक कार्यक्रममा महालेखा टंकमणि शर्मा दंगाल समेत दुई जनालाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ।
विद्यालय क्षेत्र आयोजना कार्यक्रमका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने २ सय मिलियन अमेरिकन डलर ऋण सहायता सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता संयन्त्र महाशाखा नेतृत्वमा वार्ता टोली गठन गरि वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी गराएका छन्।
त्यस्तै, मन्त्रिपरिषद्ले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरि विदेशी लगानीको न्यूनतम सीमाप्रति विदेशी लगानीकर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ।
असोज २८ गतेसम्म पूर्ण प्रतिबन्ध लगाएका विभिन्न ४ प्रकारका वस्तुको पैठारीमा लगाएको बन्देजलाई मंसिर मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको कार्कीले जानकारी दिए।
त्यसैगरी, बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुन:स्थापना इकाइको कार्यवधि समाप्त हुने मिति कार्तिक ११ देखि लागू हुने गरि एक वर्ष थप गर्ने निर्णय गरेको छ।
वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिम वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८० साल असार मसान्तभित्र थप गर्न बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने निर्णय गरेको छ।
विभिन्न देशका ३७ जना नागरिकहरुले बुझाउनु पर्ने भिसा दस्तुर, विलम्व शुल्क र जरिवानाबापतको रकम मिनाहा गरि तीन महिनाभित्र नेपाल छोड्न प्रस्थान अनुमति दिने निर्णय भएको पनि मन्त्री कार्कीले जानकारी दिए।
त्यसैगरी, कपिलवस्तु जिल्ला बकडरियाको वडा नम्बर ९ को एक विगा जग्गा १५ शय्याको अस्पताल निर्माणका लागि ३० वर्षका लागि बुद्धभूमि नगरपालिकालाई सर्शत प्रयोग गर्न स्वीकृत दिएको छ।
नेपाली सेनाका विएन.१७७५ सहायक रथी विजय थापाको पदावधि २०८० असोज १ गतेसम्म थप गर्ने, नेपाली सेना साधारण सेवा विएन. १८२५ महासेनानी राजेन्द्र प्रसाद सुनुवारलाई अवकाश हुने मिति भन्दा एक महिना अघि लागू हुने गरि सोही सेवाको सहायक रथी दर्जामा विशेष बढुवा गर्ने, नेपाली सेना सैनिक हवाई पाइलट समूहका व्याच नम्बर ३२०१ प्रमुख सेनानी सुभास खड्का समेत ४ पाइलटलाई प्रमुख महासेनानी दर्जामा कार्यवहाक बढुवा गरि पदस्थापना गर्ने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको मन्त्री कार्कीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।