पोखरा– नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलका खेल शुक्रबारदेखि सुरु भएका छन्। पोखरा रंगशालामा शुक्रबारदेखि सुरु भएको पहिलो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ।
पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। पहिलो सेट २५–१६, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–११ ले कर्णाली पराजित भयो।
लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा पुलिसले जितसँगै ३ अंक जोडेको छ। शुक्रबारको दोस्रो खेलमा गण्डकी प्रदेश र बागमती प्रदेश भिड्दै छन्।
पुरुष भलिबलको समूह ‘ए’ मा पुलिस र कर्णालीसहित लुम्बिनी प्रदेश, समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम र समूह ‘डी’ मा गण्डकी र बागमती प्रदेश छन्।
प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वार्टरफाइनल पुग्नेछन्। तालिकाअनुसार समूह ‘डी’ मा दुई टिममात्र रहेकाले गण्डकी र बागमती सिधै क्वार्टरफाइनल पुगेका छन्। दुवैले अब समूह विजेता बन्न प्रतिस्पर्धा गर्नेछन्।
बिहीबारबाट म्याग्दीको बेनीस्थित खेल मैदानमा सुरु भएको महिला भलिबलमा एपीएफले बिजयी सुरुआत गरेको छ।
शुक्रबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। एफीएफले २५–६, २५–०२ र २५–०७ को सेटमा कर्णालीमाथि जित निकालेको हो।
महिला भलिबलमा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता रहेको छ। शुक्रबार बागमती प्रदेश र प्रदेश १, नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशका खेल हुँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।