दमौली- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँको दमौलीमा सञ्चालन हुने महिला बास्केटबलमा ६ प्रदेश सहभागी हुने भएका छन्। शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागी हुन विभिन्न प्रदेशका खेलाडी आज दमौली आइपुगेका छन्।
महिला बास्केटबल प्रतियोगिता अन्तर्गत दुई विधामा खेल सञ्चालन हुनेछ। ६ जना खेल्ने खेलमा ६ वटा प्रदेश र तीन जना खेल्ने खेलमा ६ प्रदेशसहित आठ वटा टिमको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए। तीन जना खेल्ने खेलमा ६ वटा प्रदेशका अतिरिक्त सशस्त्र प्रहरी र नेपाली सेनाको विभागीय टिम सहभागी हुँदैछन्।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगिताका लागि बजार क्षेत्रमा स्वागत गेट, व्यानर टाँसिएको छ। शुक्रबार बिहान ११ बजे सम्पूर्ण जातजाति, विभिन्न क्लब, सङ्घसंस्था, खेलाडीको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ।
खेल सञ्चालनका लागि खेल मैदान तयार भइसकेको छ। खेलमैदानमा रङरोगन, सरसफाइ गरिएको छ भने मैदान सम्याउनका लागि ढलान गर्ने कार्य गरिएको छ। यहाँ रहेका दुई वटा मैदानमा खेल सञ्चालन हुनेछ।
असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने खेलका लागि खेलाडी, अफिसियल सहित एक सय ५६ जना दमौली आइपुगेका छन्। आवासको व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद्ले गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।