काठमाडौं- सत्ता-गठबन्धनले सातै प्रदेशमा संयुक्त सभा गर्ने भएको छ। गठबन्धनको आजको बैठकले कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलमा, ५ गते प्रदेश १ को विराटनगर र मधेश प्रदेशको जनकपुरमा, ६ गते सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा तथा ७ गते काठमाडौंमा सयुक्त सभा गर्ने भएको हो।
बैठकले केन्द्रमा रामचन्द्र पौडेलको नेतृत्वको गठबन्धनले काम गर्ने, प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुखहरु रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने निर्णय पनि गरेको छ।
यस्तै जिल्ला संयन्त्रले आवश्यकता अनुसार निर्वाचन क्षेत्र तथा स्थानीय तहमा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्ने सक्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले गठबन्धनका पक्षमा जनमत सिर्जना गर्न अपिल तयार गर्न चार सदस्यीय मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ।
समितिमा नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत, नेकपा (माओवादी केन्द्र)का नेता हितमान शाक्य, नेकपा (एकीकृत समाजवादी)का नेता प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।