काठमाडौं- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गराउन सम्बन्धित कार्यलयका प्रमुखलाई विशेष निर्देशन गरेको छ। आयोगका सहप्रवक्ता उपसचिव कमल भट्टराईले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा उल्लेख गरेका हुन्।
पार्टीका उम्मेदवारको पक्ष विपक्षमा प्रसारप्रचार गरेको पाइएकोले सम्बन्धित कार्यलय प्रमुखलाई आयोगले निर्देश गरेको हो।
‘निर्वाचन आचारसंहिता विपरीतको काम कारबाही गर्ने कर्मचारी, शिक्षक, प्राध्यापक, सुरक्षाकर्मी समेतलाई निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर र सजाय) ऐन, २०७३, निर्वाचन आचारसंहिता, २०७९ तथा प्रचलित कानुन बमोजिम विभागीय कारबाही गरी सोको जानकारी निर्वाचन आयोग र सम्बन्धित जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई गराउन निर्वाचन आचारसंहिता लागू हुने सबै निकायका प्रमुखलाई निर्देशन दिने निर्णय गरेको छ,’ आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ।
यस्तै आचारसंहिता अनुगमनको विवरण र कारबाहीको व्यहोरा आयोगको केन्द्रदिय सचिवालयमा पठाउन पनि आयोगले आफ्नो विज्ञप्तिमा मातहतको कार्यालयलाई निर्देशन दिएको छ।
‘निर्वाचन आचारसंहिता, २०७९ विपरित कार्य गर्ने कर्मचारी, शिक्षक, प्राध्यापक, सुरक्षाकर्मी तथा निर्वाचन आचारसंहिता पालना गर्नु पर्ने दायित्व भएका कुनै व्यक्तिलाई उपरोक्त निर्णय बमोजिम कारबाही नगर्ने कार्यालय प्रमुखलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिमको कारबाही गरी सोको विवरण केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पेस गर्न निर्वाचन आयोगको सचिवालयलाई निर्देशन दिएको छ,’ आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।