फाइल तस्बिर।
गुल्मी– गुल्मीमा विद्युत् सर्ट भएर एक घरमा आगलागी हुँदा झण्डै ५५ लाख रुपैयाँको क्षति भएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुंगा नगरपालिका–४ का लालबहादुर दर्लामीको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो।
बुधबार साँझ ७ बजेको समयमा आगलागी हुँदा २ तले कच्ची घर जलेर पूर्ण रुपमा नष्ट भएको छ। आगलागीबाट अन्नपात, लत्ताकपडा र कागजपत्र गरि १५ देखि २० लाख, नगद झण्डै १५ लाख र २० लाख बराबरको घरमा क्षति भएको विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूना अधिकारी माधवराज खरेलले जानकारी दिए।
सदरमुकामदेखि ८ किलोमिटर पक्की सडक नजिकै आगलागी हुँदा पनि दमकलको सहज पहुँच नहुँदा आगलागी नियन्त्रणमा आउन सकेन।
जिल्लाबाट गएको प्रहरीको टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास गरेपनि घर जलेर पूर्णरुपमा नष्ट भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।