गुल्मी- गुल्मी- २ मा सत्ता-गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका महासमिति सदस्य डा दामोदर भुसालले चुनाव चिह्न त्रिभुज पाएका छन्।
उनले गठबन्धनकी उम्मेदवार एकीकृत समाजवादीकी रामकुमारी झाँक्री विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
उम्मेदवारको मनोनयन फिर्ता लिने अवधिसम्म फिर्ता नलिएकाले स्वतन्त्र उम्मेदवार भुसालको उम्मेदवारी कायमै रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न त्रिभुज दिएको छ।
नेपाली कांग्रेस गुल्मीको पूर्व क्षेत्रीय सभापति समेत रहेका भुसाल हाल लुम्बिनी प्रदेश योजना आयोग सदस्य हुन्। उनले गठबन्धन गर्न नहुने भन्दै सुरुदेखि नै विरोध गर्दै आएका थिए।
गुल्मी- २ को प्रदेश सभा 'ख' स्वतन्त्र उम्मेदवार नरेन्द्र अर्यालले भने उम्मेदवारी फिर्ता लिएका छन्। उनले कांग्रेसबाट विद्रोह स्वतन्त्र उम्मेदवारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।