काठमाडौं- नेकपा एमालेले प्रतिनिधि सभाका थप ३ क्षेत्रमा अन्य उम्मेदवारलाई समर्थन गर्ने भएको छ। एमालेले यी ३ क्षेत्रमा आफ्नो उम्मेदवारी फिर्ता लिएको छ।
एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाका विरुद्ध डडेल्धुरामा उम्मेदवारी दिएका नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्दै आफ्नो दलका उम्मेदवार चक्रबहादुर स्नेहीको उम्मेदवारी फिर्ता गराएको छ।
यस्तै, हृदेयश त्रिपाठीलाई सहयोग गर्न एमालेले सिन्धु जलेसा बुढाथोकीको उम्मेदवारी फिर्ता गराएको छ। त्रिपाठी जनता प्रगतिशील पार्टीबाट नवलपरासी बर्दघाट पश्चिम- १ बाट उम्मेदवारी दिएका छन्।
उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार अर्बपति विनोद चौधरी रहेका छन्।
चितवन- ३ बाट पनि एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन्। एमालेले यो क्षेत्रमा नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई सहयोग गर्नेछ। कोइरालाले सत्ता गठबन्धनतर्फका माओवादी उम्मेदवार भोजराज अधिकारीका विरुद्ध उम्मेदवारी दिएका छन्।
यसैगरी बाग्मती प्रदेश सभाका एमाले उम्मेदवार धनबहादुर घलेको पनि उम्मेदवारी फिर्ता भएको छ। घले धादिङ- २ को प्रदेश ‘ख’ बाट उम्मेदवार थिए। धादिङ- २ मा राप्रपाले एमालेलाई समर्थन गर्ने भएपछि प्रदेशमा एमालेले राप्रपालाई सहयोग गर्ने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।