काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरुको उजुरीमाथिको छानबिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले टुंगो लगाउने स्पष्ट पारेको छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरुको उजुरीको छानबिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै टुंगो लगाउने गरी आवश्यक व्यवस्था मिलाइएको बताए।
असोज २३ गते निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरिएको थियो भने आज अपराह्न ३ बजेसम्म त्यसमाथिको दावी-विरोध र उजुरीको समय तोकिएको थियो।
आयोगका प्रवक्ता पौडेलले कर्णाली प्रदेशका केही जिल्लामा विद्युत र टेलिफोन दुवै अवरुद्ध भएकाले त्यहाँ मनोनयन भएका उम्मेदवारको तथ्यांक आउन बाँकी रहेको जानकारी दिए।
आयोगले उम्मेदवारमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरुको उम्मेदवारी स्वत: रद्ध हुने पनि बताएको छ। आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।