काठमाडौं- प्रतिनिधि सभा निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेसले दलित समुदायबाट एक जना पनि उम्मेदवार उठाएको छैन। एमाले र माओवादीले पनि १-१ जना मात्र उम्मेदवार बनाएका छन्।
आइतबार भएको मनोनयन दर्तामा नेपाली कांग्रेसबाट निवर्तमान सचेतक मीन विश्वकर्माको नाम सिफारिस भए तापनि अन्तिममा उनको टिकट खोसिएको छ। २०७४ को निर्वाचनमा पनि कांग्रेसबाट प्रत्यक्षतर्फ एक जना पनि दलित बन्न सकेका थिएनन्।
एमालेबाट रुपन्देही १ बाट छबिलाल विश्वकर्मा उम्मेदवार बनेका छन्। उनको प्रतिस्पर्धा एमाले परित्याग गरेका घनश्याम भुसालसँग हुनेछ। विश्वकर्मा एमालेबाट दलित समुदायका एक्ला उम्मेदवार हुन्।
माओवादीले बाट बाँके १ मा महेश्वरजंग गहतराजलाई उम्मेदवार बनाएको छ। उनले २०७४ मा पनि चुनाव जितेका थिए।
२०७४ मा ३ जना मात्रै दलित उम्मेदवारले प्रत्यक्ष जितेका थिए। त्यतिबेला कास्की- १ बाट एमालेका जगतबहादुर सुनार, रुपन्देही- ३ बाट एमालेकै छविलाल विश्वकर्मा र बाँके- १ बाट माओवादीका गहतराज निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।