काठमाडौं- प्रतिनिधि सभाका लागि २ हजार १ सय २८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। आइतबार साँझ विज्ञप्ति गर्दै आयोगले साँझसम्म सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा यो तथ्यांक सार्वजनिक गरेको बताएको छ।
‘आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा प्रतिनिधि सभा अन्तर्गत देशभर १९३७ पुरुष र १९१ महिला गरी कुल २१२८ उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ। प्रदेश सभातर्फ २६०० पुरुष, २४४ महिला र १ अन्य गरी २८४५ जनाको उम्मेदवारी दर्ता भएको छ,' आयोगले विज्ञप्तिमा जनाएको छ।
प्रदेश १ मा ४४५ पुरुष, ४९ महिला गरी ४९४, मधेश प्रदेशमा ७११ पुरुष, ५५ महिला र १ अन्य गरी ७६७, बागमती प्रदेशमा ५६१ पुरुष, ७४ महिला गरी ६३५, गण्डकी प्रदेशमा १९९ पुरुष, २९ महिला गरी २२८, लुम्बिनी प्रदेशमा ४१४ पुरुष, २३ महिला गरी ४३७, कर्णाली प्रदेशमा ७९ पुरुष, २ महिला गरी ८१ र सुदूरपश्चिम प्रदेशमा १९१ पुरुष, १२ महिला गरी २०३ उम्मेदवारले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेको आयोगले उल्लेख गरेको छ।
दर्ता भएका उम्मेदवाहरूको सूची आजै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले बताएको छ।
असोज २४ गते सोमबार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने कार्यक्रम रहेको आयोगले जारी गरेको विज्ञप्तिमा बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।