काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि एमालेका दुई उम्मेदवारले एउटै क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्। रुपेन्देही-५ मा एमालेका दुई जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
तिलोत्तमा नगरपालिकाका पूर्वप्रमुख वासुदेव घिमिरे र राष्ट्रिय सभाबाट राजीनामा दिएका खिमलाल भट्टराई दुवैले उमेदवारी दिर्ता गराएका हुन्।
एउटै क्षेत्रमा एमालेका दुई उम्मेदवारले मनोनयन दर्ता गराएपछि निर्वाचन आयोगले आधिकारिकताको निर्णय गर्नुपर्ने भएको छ।
दुवै उम्मेदवारले एमालेको आफू आधिकारिक उम्मेदवार भएको दाबी समेत गरेका छन्। घिमिरेले शनिबार नै आफू आधिकारिक भएको भनी पार्टीले दिएको मनोनयनपत्र लिएर सूर्य चिह्नमा दर्ता गराएको दावी गरे।
खिमलाल भट्टराईले घिमिरेको मनोनयन पार्टीको आग्रहमा निर्वाचन अधिकृतले रद्द गरेपछि आफ्नो उम्मेदवारी दर्ता भएको दावी गरे।
‘पार्टीको निर्णय बमोजिम नै मैले उम्मेदबारी दर्ता गराएको छु,’ भट्टराईले भने, ‘सूर्य चिह्नबाट एमाले उम्मेदवारका रुपमा मेरो मनोनयन दर्ता भयो। त्यसअघिको घिमिरेजीको उम्मेदवारी रद्द भयो। अब म मात्र एकल उम्मेदवार हुँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।