रसुवा– रसुवामा विदेशी पर्यटकको संख्या बढ्दै गए पनि पर्यटन व्यवसायी र होटल व्यवसायीको आम्दानी खस्किँदै गएको छ । पाँच वर्षअघिसम्म विदेशी पर्यटकबाट राम्रो आम्दानी हुने गरे पनि पछिल्लो समय जिल्लामा झोले पर्यटकहरु बढेसँगै व्यवसायीहरुको आम्दानी खस्किँदै गएको हो।
जिल्लामा भित्रिएका पर्यटकमध्ये इजरायली पर्यटकले कम खर्च गर्ने भएकाले व्यवसायीहरुको आम्दानी घट्दै गएको छ । जिल्ला आउने पर्यटकमध्ये इजरायली पर्यटकले होटलमा बस्दा पनि आफैं खाना पकाएर खाने गरेका छन्।
विदेशी पर्यटक आएपछि स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना हुने, आम्दानी बढ्ने र जीवनशैलीमा सकारात्मक परिवर्तन हुने अपेक्षा गरिने भए पनि रसुवामा त्यस्तो अवस्था छैन । जिल्लामा खेतीयोग्य जमिन कम भएको र जिल्लाको माथिल्लो क्षेत्रमा कमै मात्र खेतीपातीको काम हुने हुँदा पर्यटन व्यवसायलाई प्राथमिकतामा राखेका व्यवसायीले जिल्लामा आएका पर्यटकबाट आम्दानी गर्नुभन्दा सास्ती बढी खेप्ने गरेका छन्।

रसुवामा अहिले साना–ठूला गरी डेढ सयको हाराहारीमा पर्यटकीय होटल र होमस्टे सञ्चालनमा छन् । त्योमध्ये निकुञ्जमा दर्ता भएका होटलको संख्या ५३ छ।
सञ्चालन भइरहेका होटलमा पर्यटकको कमी नभए पनि विदेशी पर्यटक राख्दा खासै फाइदा पनि नहुने होटल सञ्चालकहरु बताउँछन् । गेस्ट हाउस लेखेको होटलमा बसेको पैसा तिर्न नमान्ने र ५० रुपैयाँमै खाना खोज्ने पर्यटक आउने गरेको उनीहरुको गुनासो छ।
‘विदेशी पर्यटकले होटलमा आएर बसे पनि खाना आफैं पकाएर खान्छन्, बासको पैसा तिर्नै मान्दैनन्’, धुन्चेकी होटल व्यवसायी बुद्धलक्ष्मी तामाङ भन्छिन्, ‘नेपालीले एक रात बस्दा तीन–चार हजार खर्च गर्छन्, विदेशीले मुस्किलले एक हजार खर्च गर्छन् । विदेशी राखेर त फाइदै हुँदैन।’
जिल्लामा रहेका धार्मिक, प्राकृतिक र ऐतिहासिक सम्पदाको अध्ययन र अवलोकनका लागि आउने पर्यटकबाट आम्दानी लिन त्यही अनुसारको लगानी गरिए पनि सोचे जस्तो आम्दानी नहुँदा व्यवसायी चिन्तित छन् ।
जिल्लामा पछिल्लो समय भित्रने पर्यटकले खर्च गर्नेभन्दा पनि पुरातात्विक महत्वका वस्तुहरु चोर्ने गरेको समेत पाइएको छ । विदेशी पर्यटकहरु प्रायः एक्लै हिँड्ने, बास बसेको पैसा नतिर्ने र खानामा समेत बागेर्निङ गर्ने गर्दा व्यवसायीहरु आजित हुने गरेका छन् । पहिले स्वदेशी पर्यटकलाई राख्न नमान्ने होटल व्यवसायी हिजोआज विदेशी पर्यटक राख्न हिच्किचाउने गरेका छन् ।
निकुञ्ज क्षेत्रमा घुम्न आउने पर्यटकमध्ये केहीले शुल्क तिर्न नमानेर फर्कने गरेका छन् । निकुञ्ज प्रवेशका लागि विदेशी पर्यटकले तीन हजार र सार्क राष्ट्रका पर्यटकले एक हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ । वार्षिक रुपमा करिब डेढ सय पर्यटक बाटोबाटै फर्कने गरेको कार्यालयको अनुमान छ । त्यसरी फर्कनेमा खासगरी इजरायली पर्यटक बढी छन् ।
रसुवामा निकुञ्ज घुम्नका साथै गोसाइँकुण्ड, लाङटाङको मनोरम हिमशृंखला, ऐतिहासिक रसुवागढी र पदमार्गका लागि पर्यटक आउने गर्छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।