काठमाडौं– मजदूर संगठनबाट राजनीतिक यात्रा थालेका लालबाबु पण्डितले नेकपा मालेसँग आबद्ध भएर पार्टीगत राजनीति सुरु गरेका थिए। उनी अहिले एमालेका स्थायी कमिटी सदस्य छन्।
पण्डितले संसद् यात्रा २०४८ देखि सुरु गरेका हुन्। त्यस निर्वाचनमा उनी मोरङ- ३ बाट उम्मेदवार भएका थिए। मोरङमा उनले भूमिगत राजनीतिको महत्त्वपूर्ण समय बिताएका थिए। संगठन विस्तारमा पनि नेतृत्वदायी भूमिका खेलेका थिए। उनको जन्मथलो सर्लाही भए पनि कर्मथलो भने मोरङ थियो।
२०४८ को निर्वाचनमा मोरङ- ३ बाट एमाले उम्मेदवार भएका पण्डितले कांग्रेसका बद्रीनारायण बस्नेतलाई पराजित गरेका थिए। निर्वाचनमा पण्डितले १८ हजार ६६७ मत पाउँदा बस्नेतले १६ हजार ६७० मत पाएका थिए। अर्का उम्मेदवार नेपाल सद्भावना पार्टीका हिरालाल साहले ४ हजार ४७२ मत पाएका थिए।
२०५१ मा भएको मध्यावधि निर्वाचनमा पनि पण्डित सोही क्षेत्रबाट उम्मेदवार भएका थिए। तर पराजित भए। २०४८ मा पण्डितसँगै पराजित भएका बद्रीनारायण बस्नेतले जित निकाले। बस्नेतले १९ हजार ८२१ मत पाउँदा पण्डितले केवल १४ हजार ९८७ मत मात्रै पाए। राप्रपाका जनकबहादुर कार्कीले ४ हजार ३१२ मत मात्रै पाएका थिए।
हार्नुको कारण आफैंलाई ठम्याएका छन्, पण्डितले। आफ्नो आत्मकथा ‘सिंहदरबार बदल्ने संघर्ष’ मा उनले लेखेका छन्- ‘जनताका धेरै अपेक्षा मबाट पूरा हुन नसकेकैले २०५१ सालको निर्वाचन हारेको थिएँ। अर्को कुरा, निर्वाचनको कमान्ड पनि म आफूले गरिनँ। २०४८ सालको निर्वाचनमा सबै कमान्ड मेरो हातमा थियो। २०५१ सालमा साथीहरुलाई अगल-अलग क्षेत्रको कमान्ड दिएको थिएँ। तालमेलको अभाव भयो। केही साथीलाई यसपटक हराउन सके अर्को पटक आफ्नो पालो आउन सक्छ भन्ने पनि लागेको हुनसक्छ।’
२०५६ को निर्वाचनमा पण्डित फेरि विजयी भए। पण्डितले १६ हजार २८८ मत पाएर जित निकाले। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोपाल राजभण्डारीले १५ हजार ५८९ मत पाएका थिए। नेपाल सद्भावना पार्टीका दिलीप धाडेवाले ७ हजार ४२ मत पाएका थिए।
२०६४ को पहिलो संविधान सभा निर्वाचनमा पण्डितले प्रत्यक्ष चुनाव लडेनन्। बरु, समानुपातिकतर्फबाट सभासद बने। २०७० मा भने प्रत्यक्ष र समानुपातिक कतै पनि उम्मेदवार भएनन्।
पहिलो संविधान सभाबाट संविधान बन्न नसकेपछि दोस्रो संविधान सभामा सभासद् बन्न मन नलागेको पण्डितको भनाइ छ। आत्मकथामा उनले लेखेका छन्- ‘दोस्रो संविधान सभामा दोहोरिएर सभासद् बन्ने इच्छा लागेन। चुनावमा उठिनँ।’
२०७४ को निर्वाचनमा मोरङ- ६ बाट प्रतिस्पर्धी भएका थिए, पण्डित। त्यतिबेला सो क्षेत्र निकै चर्चामा आएको थियो। सुशील कोइराला नेतृत्वको सरकारमा मन्त्री भएका बेला पण्डितले कर्मचारीले डीभी र पीआर लिन नपाउने व्यवस्था गरेपछि चर्चा कमाएका थिए। त्यसो त पण्डितको सादगी शैलीको पनि प्रशंसा पनि भएको थियो। अर्कोतिर, कांग्रेसका एक जना शीर्ष नेता डा शेखर कोइराला प्रतिस्पर्धी बनेका थिए। अन्तिममा पण्डितले बाजी मारे।
वाम गठबन्धनको साझा उम्मेदवार बनेका पण्डितले ३३ हजार ९४१ मत पाएका थिए। कोइरालाले भने ३३ हजार २६६ मत पाए। अर्का उम्मेदवार संघीय समाजवादी फोरम नेपालका राजेश्वर विश्वासले ५ हजार २६१ मत पाएका थिए।
२०७४ सालमा प्रकाशित पुस्तकमा पण्डितले नै लेखेअनुसार, २०४८ सालपछि पार्टीले उनलाई जिम्मेवारविहीन बनाएको छैन। पार्टी भित्रको जिम्मेवारी मात्रै होइन, उनले दुईपटक मन्त्री बन्ने अवसर पनि पाइसकेका छन्। सुशील कोइराला नेतृत्वको सरकारमा उनी सामान्य प्रशासन मन्त्री भएका थिए। जबकि, उनी त्यतिबेला सभासद थिएनन्। तर मन्त्रीका रुपमा उनले सो कार्यकालमा प्रशंसा पाए।
२०७४ मा गठन भएको केपी ओली नेतृत्वको सरकारमा पनि पण्डित मन्त्री भए। केही महिना जनसङ्ख्या तथा वातावरण मन्त्री र त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भए। तर यसपटक उनले कुनै उल्लेखनीय भूमिका देखाउन सकेनन्। बरु, २०७६ मंसिर ४ को मन्त्रिपरिषद् विस्तारमा समेटिएनन्।
पार्टीभित्र पनि पण्डितको प्रभाव घटेको देखिन्छ। २०७८ मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा उनी पदाधिकारीको आकांक्षी थिए। तर उनलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यका रुपमा प्रस्ताव गरेका थिए। त्यसपछि उनले केन्द्रीय सदस्य अस्वीकार गर्दै पार्टीको सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको घोषणा गरेका थिए। तर पछि उनी केन्द्रीय सदस्य तथा स्थायी कमिटी सदस्य बनाइएका थिए।
[समानुपातिक प्रणालीबाट पटकपटक सांसद बन्नेहरुको जति चर्चा/आलोचना हुन्छ, प्रत्यक्षतर्फ सांसद बन्नेहरुको खासै हुँदैन। हुन त, व्यक्तिगत रुपमै लोकप्रिय नेता जनताबाट प्रत्यक्षरुपमा जति पटक अनुमोदन भए पनि के फरक पर्छ र? भन्ने बहस पनि हुने गरेको छ, तर दुवै प्रणालीबाट निर्वाचित हुनेहरु पार्टीगत लोकप्रियताभन्दा धेरै पर भने नहुने स्पष्टै छ। प्रत्यक्ष प्रणालीबाट एउटै व्यक्ति कति पटक सांसद बन्ने? यही बहसलाई सघाउ पुगोस् भनेर यो शृंखला सुरु गरेका छौँ। यसअन्तर्गत हामी २०४८ मै सांसद भइसकेका र अहिले पनि सांसद बन्ने प्रयत्नमा रहेका नेताहरुको विषयमा चर्चा गर्नेछौँ]
यस शृंखलाका अन्य सामग्रीहरू :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।