बिर्तामोड– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनअघि नै सरकारको नेतृत्वबाट राजीनामा दिने घोषणा गरेका छन् ।
झापाको बिर्तामोडमा आइतबार पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले आफूले एक वर्ष सरकार सञ्चालन गरेर पद हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका हुन् ।
'हामी काम गर्नका लागि सरकारमा गएका हौं,' ओलीले भने, 'एक वर्षभित्र धेरै काम गरेका छौं, अझ धेरै गर्न बाँकी छ ।'
उनले आफू नेतृत्वको सरकारले युगान्तकारी काम गरेको दाबी गर्दै तराईको हुलाकी सडक र चुरे क्षेत्रको मदन भण्डारी राजमार्ग आफ्नै पहलमा रेखांकन भएको उल्लेख गरे । ओलीले एमालेलाई कमजोर पार्न सुनियोजित षड्यन्त्र भइरहेको आरोप पनि लगाए । 'एमालेलाई टिक्नै नदिने, टिकिहाले उम्रिनै नदिने, उम्रिहाले हुर्किनै नदिने गरी चारैतिरबाट घेराबन्दी गरिएको छ,' उनले भने ।
उनले एमालेबिनाको नेपाल सम्भव नरहेको जिकिर गर्दै पार्टीलाई थप सुदृढ बनाएर जनताको भरोसा जित्ने उद्घोष गरे ।
शनिबार झापा आएका ओलीले आइतबारसम्म आधा दर्जन विकास योजनाहरूको उद्घाटन गरेपछि आइतबारै काठमाडौं फर्किने कार्यक्रम छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।