काठमाडौं- बैंकिङ क्षेत्रमा परिचित नाम हो भुवन दाहाल। २०२८ सालमा सिन्धुलीको भिमानमा जन्मिएका दाहालले भिमानकै जनजागृति माध्यमिक विद्यालयबाट कखरा सिके।
एक कक्षा पास भएपछि उनको परिवार सिन्धुलीबाट बसाइ सरेर रौतहटको चन्द्रनिगाहपुर झर्यो। त्यसपछि १० कक्षासम्मको अध्ययन उनले चन्द्रनिगाहपुरको जनज्योति माध्यमिक विद्यालयबाट पूरा गरे।
स्कुल पढ्दा कहिल्यै उत्कृष्ट स्थानमा पर्न नसकेको अनुभव सुनाउँछन् दाहाल। उनी भन्छन्, ‘स्कुल पढ्दा म कहिल्यै पहिलो, दोस्रो वा तेस्रो स्थानमा आउन सकिनँ। क्याम्पस पढ्न थालेपछि भने राम्रो रिजल्ट आउन थाल्यो।'
चन्द्रनिगाहपुरबाट १० कक्षा (एसएलसी) पास भएपछि १२ कक्षासम्म दाहालले ललितपुरको पाटन मल्टिपल क्याम्पस पढे। ‘पाटन मल्टिपलमा मैले ११ र १२ (आइए) पढेको हुँ। ११ पढ्दा म दोस्रो स्थानमा आउन सफल भएको थिएँ। १२ सय हाराहारीमा विद्यार्थीको बीचमा दोस्रो स्थानमा आउनु मेरा लागि निकै ठूला कुरा थियो,’ उनी भन्छन्।
११ कक्षामा दोस्रो स्थानमा आउन सफल भएका दाहाल १२ कक्षामा भने प्रथम भएका थिए। मिहिनेत गर्दै गएपछि विस्तारै उत्कृष्ट नतिजा ल्याउन सकेको अनुभव उनीसँग छ।
११ र १२ पछि स्नातक (ब्याचलर) सम्मको पढाइ काठमाडौंको आरआर (रत्नराज्य) क्याम्पसबाट गरेका दाहालले आरआर क्याम्पसबाट मेजर इङ्लिस र अर्थशास्त्र विषयमा स्नातक गरे। त्यसपछि उनले विराटनगरको डिग्री कलेजबाट एमबिए गरे।
सरकारी जागिर छाडेर नबिल बैंकमा
एसएलसी दिएदेखि नै केही न केही काम गर्नुपर्छ भन्ने सोच राखेका दाहाल त्यतिबेलै ट्युसन पढाएर आफ्नो लागि खर्चको जोहो आफैं गर्थे। ११/ १२ पढ्दा त सरकारी जागिरमा लागिसकेको उनी बताउँछन्। दाहाल पछि सरकारी जागिर छाडेर नबिल बैंकमा काम गर्न विराटनगर पुगे।
नबिल बैंकमा छनोट हुँदा दाहाल स्नातक पहिलो वर्ष पढ्दै थिए। ‘स्नातक पहिलो वर्ष अध्ययन गर्दै थिएँ। परीक्षाको समय र नबिल बैंकमा एकै पटक नाम निस्केको थियो। मैले नबिल बैंकमा जागिर खाने समयमा एचआर हेड हरि भट्टराई हुनुहुन्थ्यो। मैले उहाँलाई परीक्षा सकेपछि मात्र नबिलमा हाजिर हुन्छु, मिलाइदिनुस् भनेको थिएँ। तर, कि परीक्षा देऊ कि जागिर खाऊ। दुवै हातमा लड्डु खोज्ने काम नगर भन्नुभएको थियो,' दाहालले सुनाए, 'म अन्योलमा थिएँ। साथीहरुले पढाइ पछि पनि गर्न सकिने र नबिलमा काम गर्न सुझाएकोले परीक्षा छाडेर विराटनगर गएँ।'
पछि पहिलो र दोस्रो वर्षको परीक्षा एकै पटक दिएर टप गरेको दाहाल सुनाउँछन्। भन्छन्, ‘स्नातकको पहिलो र दोस्रो वर्ष टप गरे पनि एमबिएमा गएर भने म फेल भएँ। एमबिएमा मार्केटिङमा विषय लागेको थियो। त्यो बेला मलाई धेरै पीडा भएको थियो।’
चार जनाको परिवारमा सबैभन्दा कान्छा हुन् दाहाल। मध्यमवर्गीय परिवारमा हुर्केका उनलाई पढाइ अगाडि बढाउन भने खासै समस्या नभएको बताउँछन्। सानैदेखि जुनसुकै काम गर्न पनि तयार भइहाल्ने दाहाल घरमा उत्पादन भएका वस्तुहरु बोरामा बोकेर लैजान पनि तयार हुन्थे।'
०००
काठमाडौं आएपछि कामको सुरुवात ट्युसन पढाएर गरेका थिए दाहालले। काठमाडौं आएको एक वर्षपछि उनले जोरपाटीस्थित एउटा स्कुलमा पढाए। लोकसेवा परीक्षा दिएर बसेका दाहाल २०४६ साल चैतमा संसदमा स्थायी जागिरे भए।
उनले संसदमा खरदार पोस्टमा सरकारी जागिर खान सुरु गरेका हुन्। दाहाल सरकारी जागिरमा प्रवेश गर्दाको एउटा किस्सा सुनाउँछन्, 'मलाई जागिरमा पहिलो दिन हाजिर हुन बोलाएको दिन २०४६ साल चैत २६ गते थियो। बहुदल आएको दिन हामीलाई अफिस आउन चिठी दिइएको थियो। त्यो दिन सरकारी कर्मचारीलाई ९ बजेदेखि लगभग १०:३० सम्म अफिस जान रोकिएको थियो। मेरो सरकारी जागिरको सुरुवात त्यही दिनबाट भएको थियो।’
सरकारी जागिर खाइरहेका दाहालले २०४८ सालमा साथीको कुरा सुनेर नबिल बैंकमा जागिर खान आवेदन दिएका थिए। उनलाई त्यो बेला स्थायी जागिर छाडेर के नबिल बैंकका काम गर्नु भन्ने पनि लागेको थियो।
‘म कमर्स नपढेको विद्यार्थी, के नबिल बैंकमा काम गर्नु भन्ने सोच आएको थियो। त्यो बेला साथीले यहाँ त कमर्स नपढेका व्यक्ति पनि पास हुन्छन्। प्रश्नहरु अंग्रेजी, गणित र जिकेबाट सोधिने गर्छ भनेर सुझाए। साथीको कुरा सुनेर मैले पनि परीक्षा दिएँ। नाम पनि निस्कियो। जो साथीले मलाई त्यो जागिरको लागि भन्नुभएको थियो उहाँले चाहिँ त्यो जागिरमा नाम निकाल्न सक्नु भएन,’ दाहाल भन्छन्।
२०४८ साल पुस ११ गते नबिल बैंकमा काम गर्न थालेका दाहालको पहिलो पोष्टिङ विराटनगर भयो। सुरुमा उनी नबिल बैंकमा असिस्टेन्टको पोष्टमा आएका थिए। त्यो बेला १२ पास गरेपछि असिस्टेन्ट पोष्टमा जागिर खान पाइने उनी बताउँछन्। अहिले भने त्यो व्यवस्था हटेको छ। अहिले बैंकको जुनियर असिस्टेन्ट पोष्टमा जागिर खानको लागि पनि ब्याचलर पास गरेको हुनुपर्ने दाहाल बताउँछन्।
नबिल बैंकमा जागिर खानुअघि उनको तलब १२ सय ४० रुपैयाँ थियो। तर नबिलमा ४१ सय रुपैयाँ पाएको अझै याद छ उनलाई। भन्छन्, 'सरकारी जागिरमा थोरै तलब खाइरहेको मान्छे। नबिल बैंकमा गएपछि तलब पनि बढ्यो र बोनस पनि पाइन थाल्यो। त्यसपछि बैंकिङ क्षेत्रमा काम गर्न उत्साहित हुँदै गएँ।'
२० वर्षको उमेरमा नबिल बैंकमा छिरेका दाहालले २१ वर्ष त्यहीँ बिताए। नबिल बैंकमा असिस्टेन्टदेखि एजिएमको पोस्टसम्म काम गरेका उनले सो बैंकबाट सन् २०१३ मेमा राजीनामा दिएका हुन्।
'नबिलमा राजीनामा दिएपछि म सानिमा बैंकमा डेपुटी सिइओ भएर आएँ। त्यहाँ आएको ६ महिनापछि तत्कालीन सिइओ कुमार लम्सालले छाड्नुभयो । उहाँले छाडेपछि म सानिमा बैंकको सिइओ भएँ।'
दुई कार्यकाल सिइओ
आफ्नो जागिरे जीवनमा दुई वटा बैंकमा काम गरे दाहालले। नबिल बैंकमा असिस्टेन्ट लेभलमा प्रवेश गरेका उनी सानिमा बैंकमा दुई कार्यकाल (८ वर्ष) सिइओ भएर काम गरे।
यति मात्र होइन, सानिमा बैंकमा कार्यरत रहँदा दाहाल वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूको संस्था नेपाल बैंकर्स संघको अध्यक्ष पनि भए। नबिल बैंकबाट बैंकिङ करिअर सुरू गरेका उनले ३० वर्ष यही क्षेत्रमा बिताए।
करिअर चाँडै सुरू गर्नुपर्छ र अवकाश पनि चाँडै लिनुपर्छ भन्ने मान्यता राख्ने दाहालले हालै किताब पनि लेखेका छन्। 'रिटायरमेन्ट एट फिफ्टी' उनले लेखेको किताब हो।
‘अहिलेसम्मको योजनामा मलाई फेरि सिइओ भएर बैंकमा जान मन छैन। सानिमा बैंकमा आठ वर्षसम्म सिइओ भएर काम गरें। त्यस बाहेक पनि बैंकिङ क्षेत्रमा नै लामो समय काम गरेको हुँदा आफूले जाने-बुझेको क्षेत्र यही हो। त्यसैले यही क्षेत्रमा अध्ययन, अध्यापन, अनुसन्धान लगायतमा क्रियाशील हुने योजना छ,’ उनी भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।